धनकुटाको लेगुवामा बजार अनुगमन: ४७ हजार बढीका म्याद गुज्रिएका अखाद्य वस्तु जफत गरी नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५, स्थित लेगुवामा बजार छड्के अनुगमन गरी किराना तथा खुद्रा पसलहरूबाट ४७ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरि नष्ट गरिएको छ।
लेगुवाका करिब एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरि म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरी नष्ट गरिएको हो। अनुगमनका क्रममा किराना पसलमा उपभोग्य मिति नाघेका खाद्यान्न, बेकरी, पेय पदार्थ फेला परेको थियो। उक्त पसलहरूमा भेटिएका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट समेत गरिएको हो।
यस्तै अनुगमनका क्रममा मूल्य सूचि टास नगरिएको, बिल नभएको र दर्ता नगरी चलाएको समेत पाइएको थियो। उक्त पसलहरूलाई आवश्यक प्रक्रिया पूरा गरि सञ्चालन र सुधार गर्न समेत निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काले बताउनुभयो।
अनुगमनका क्रममा किराना पसलहरू दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको थियो भने सामान राख्दा हेरेर मात्रै राख्न तथा उपभोक्तालाई बेच्न आग्रह गरिएको थियो। म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरूलाई आगामी दिनमा पुनः यस्तो गल्ती नदोहोर्याउन अनुगमन टोलीले चेतावनी समेत दिएको छ।
बजार अनुगमन जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय लगायतको टोलीले गरेको हो। चाडपर्वको अवसरमा दैनिक उपभोग्य वस्तु खरिद बिक्री गर्दा उपभोक्ता नठगिउन भनेर अनुगमनलाई तीव्रता दिइएको अनुगमन टोलिले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्