इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला सुरु
इलाम। फूल खेती तथा पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले इलाममा पहिलोपटक आयोजना गरिएको प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३ आजदेखि सुरु भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल, इलामको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म इलाम नगरपालिका–७ स्थित चोक बजार नजिकै सञ्चालन हुने मेलाको उद्घाटन पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवं कोशी प्रदेशसभा सदस्य रामबहादुर राना मगरले गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रानाले इलाममा विभिन्न प्रजातिका फूलहरू उत्पादन हुँदै आएको उल्लेख गर्दै स्थानीय फूलका जातहरूको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष राजेशमणि श्रेष्ठ, जनप्रतिनिधि, पुष्प व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

मेलामा ३० वटा स्टल राखिएका छन् भने तीन सयदेखि चार सय प्रजातिका फूल तथा पुष्पजन्य बिरुवा प्रदर्शन गरिने आयोजकले जनाएको छ। प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य बिरुवाको प्रदर्शनीसँगै फूलखेतीसम्बन्धी उत्पादनको बिक्री समेत गरिनेछ।
फ्लोरिकल्चर एसोसिएसन इलामकी अध्यक्ष रञ्जिता जिमी याक्खाका अनुसार स्थानीय फूल खेती व्यवसायी तथा कृषकले उत्पादन गरेका फूल र बिरुवालाई प्रत्यक्ष रूपमा उपभोक्ता तथा सम्भावित खरिदकर्तासम्म पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो।
पछिल्लो समय इलाम चिया र अलैँचीसँगै फूलखेतीका लागि समेत परिचित बन्दै गएको छ। जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा फूल खेती विस्तार हुँदै गए पनि उत्पादित फूलको बजार विस्तार, प्रचारप्रसार र उपभोक्तासम्म प्रत्यक्ष पहुँच पुर्याउन अझै चुनौती रहेको व्यवसायीहरूको भनाइ छ। यस्तो अवस्थामा प्रदर्शनीले स्थानीय उत्पादनको बजारीकरण र पुष्प व्यवसायको विस्तारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
चार दिनसम्म सञ्चालन हुने मेलामा जिल्लाभित्र तथा बाहिरबाट आउने आगन्तुकका कारण स्थानीय व्यापार, होटल, यातायातलगायत क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
मेला फूल खेती व्यवसायी, कृषक, उपभोक्ता, पर्यटन व्यवसायी तथा सर्वसाधारणबिच भेटघाट, अनुभव आदानप्रदान र व्यावसायिक सम्बन्ध विस्तार गर्ने साझा थलो बन्ने आयोजकले जनाएको छ।
अध्यक्ष याक्खाले फूल खेती तथा पुष्प व्यवसायको सम्भावना उजागर गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने लक्ष्यसहित आयोजना गरिएको मेलामा सहभागी हुन कृषक, व्यवसायी, उपभोक्ता तथा सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्