आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरी : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षालाई श्रम बजारको माग र निजी क्षेत्रको आवश्यकतासँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधवार राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरेको प्राविधिक तथा व्यावसायिक सीप र निजी क्षेत्रको सीप आवश्यकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक शिक्षामा लगानी बढे पनि शिक्षालयमा विद्यार्थीको आकर्षण घट्दै जानु र कतिपय शिक्षालय बन्द हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताउनुभयो । परम्परागत शिक्षण शैली र बजारको आवश्यकतासँग मेल नखाने पाठ्यक्रमका कारण प्राविधिक शिक्षाप्रति आकर्षण घटेको हुन सक्ने उहाँको भनाइ थियो ।
लुम्बिनी प्रदेशमा विद्युतीय तथा मेकानिकल क्षेत्रका दक्ष जनशक्तिको माग करिब ५२ प्रतिशत रहेको छ। तर, प्राविधिक शिक्षालयबाट उत्पादन हुने जनशक्तिको सीप र उद्योगको वास्तविक आवश्यकताबिच तालमेल हुन नसकेको अध्ययनले देखाएको छ । दक्ष तथा अनुभवी प्राविधिक जनशक्ति उपलब्ध नहुँदा उद्योगहरू अन्य जिल्ला र भारतमा निर्भर हुनुपर्ने अवस्था रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
निजी क्षेत्रले श्रम बजारको मागअनुसार पाठ्यक्रम निर्माण, प्राविधिक शिक्षालय र उद्योगबिच समन्वय, दक्ष प्रशिक्षकको व्यवस्था तथा व्यावहारिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । पढ्दै, सिक्दै र कमाउँदै कार्यक्रम प्रभावकारी बनाउनुपर्ने तथा निजी क्षेत्रको सहभागितामा सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न मन्त्रालयमार्फत प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभीईटी) क्षेत्रमा ४१ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सामाजिक विकास मन्त्रालयमा ३० करोड १४ लाख ५२ हजार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा ८ करोड ४७ लाख ३५ हजार, कृषि, भूमि तथा सहकारी मन्त्रालयमा २ करोड १७ लाख, युवा तथा खेलकुद मन्त्रालयमा ५२ लाख र वन तथा वातावरण मन्त्रालयमा १२ लाख रुपैयाँ विनियोजन भएको प्रस्तुतिमा उल्लेख छ ।
प्रदेशमा १५ देखि ६५ वर्ष उमेर समूहको जनसङ्ख्या ६४.९ प्रतिशत छ । साक्षरता दर ७८.१ प्रतिशत र बेरोजगारी दर ७.५ प्रतिशत रहेको छ । श्रम शक्तिमध्ये कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा ६०.३ प्रतिशत, सेवा क्षेत्रमा ३६.२ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ३.५ प्रतिशत संलग्न छन् ।
सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । मन्त्रालयका सचिव सुशीला अर्यालले स्वागत गर्नुभएको कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले सहजीकरण गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, सामाजिक विकास मन्त्रालयको प्राविधिक शिक्षा महाशाखा प्रमुख हरिकला सारु र रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्राविधिक शिक्षाको अवस्था, अवसर र निजी क्षेत्रको सीप आवश्यकताबारे प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सरकारी निकाय, प्राविधिक शिक्षालय र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्