भिडियोमार्फत कलाकार सार्वजनिक गर्दै ‘द प्रोफेसनल गाइज’

काठमाडौँ । चलचित्र ‘द प्रोफेसनल गाइज’ को मुख्य कलाकारहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यसअघि निर्देशक मात्र सार्वजनिक गरेको निर्माण टिमले कलाकारको नाम भने गोप्य राखेको थियो।
जे.के.एस. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा अमन श्रेष्ठ, बासना तिमिल्सिना, शिशिर शिवाकोटी, जीवन बस्नेत र प्रवेश महतारा क्षेत्री मुख्य भूमिकामा देखिनेछन्।
त्यस्तै, चलचित्रमा गोविन्द सुनार, भारत बारबरिक, सुरज पराजुली, रश्मि उप्रेती, सुशान्त डंगोल, विजय रोय, अबिन ठटाल, आशिष सौदागर, झान कुमार श्रेष्ठ, बिपन कार्की, मुन्ना शाह र राजु नन्दी लगायतका कलाकारको अभिनय रहनेछ। बाल कलाकारतर्फ रागन मानन्धर, एन्जेल मानन्धर, सृजन श्रेष्ठ, सिमरन श्रेष्ठ र अभिलाषा मानन्धर अनुबन्धित भएका छन्।
प्रायः चलचित्रहरूले कलाकार अनुबन्धको जानकारी पोस्टरमार्फत सार्वजनिक गर्ने भए पनि ‘द प्रोफेसनल गाइज’ को टिमले भने फरक शैली अपनाएको छ। निर्माण टिमले रोचक भिडियोमार्फत कलाकारहरूको परिचय गराउने क्रम सुरु गरेको छ। यसैक्रममा पहिलो भिडियो अभिनेता अमन श्रेष्ठको सार्वजनिक गरिएको छ भने अन्य कलाकारका भिडियोहरू पनि हरेक दिन क्रमिक रूपमा सार्वजनिक गरिने टिमले जनाएको छ। यसअघि चलचित्रको शीर्षक घोषणा र सिर्जनात्मक सामग्रीहरू पनि फरक शैलीमै सार्वजनिक गरिएको थियो।
चलचित्रमा अस्मिता अधिकारी, बिराज गौतम र बियोन्डको सुमधुर स्वरमा सजिएका गीतहरू सुन्न पाइनेछ। त्यस्तै, चलचित्रको शीर्ष र्याप गीत बियोन्ड र ‘Keru On Fleek’ ले प्रस्तुत गरेका छन् भने ब्याकग्राउन्ड म्युजिक नेस स्टुडियो (Ness Studio) अन्तर्गत ब्रिजेश श्रेष्ठ र बियोन्डले तयार पारेका छन्।
राहुल शाहको कोरियोग्राफी रहने यस चलचित्रमा डार्विन श्रेष्ठ छायाङ्कन निर्देशक (डाइएफ फोटोग्राफी) रहेका छन्। सिनेमाटोग्राफीमा डार्विन श्रेष्ठसँगै सुबन गुरुङ, विजय रोय र अमृत चौहानले सहकार्य गरेका छन्। चलचित्रको सम्पादन तथा कलरिङ अनन्त घिमिरेले सम्हाल्दा भिएफएक्स तथा एनिमेसनको जिम्मेवारी डार्विन श्रेष्ठले नै सम्हालेका छन्।







प्रतिक्रिया राख्नुहोस्