तपाईँ सुन्दै हुनुहुन्छः

विवादित न्यायाधीशमाथि निष्पक्ष छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको माग

काठमाडौँ । न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठिरहेका बेला ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) ले सर्वोच्च अदालतका विवादित न्यायाधीशहरूमाथि यथाशीघ्र निष्पक्ष छानबिन गर्न माग गरेको छ।

हालै विभिन्न सञ्चारमाध्यमहरूमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत केही न्यायाधीशहरूको बिचौलियाहरूसँग साँठगाँठ रहेको समाचार सार्वजनिक भएपछि टीआई नेपालले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

संस्थाका उपाध्यक्ष सरोज प्रसाद पाण्डेद्वारा सोमबार जारी प्रेस वक्तव्यमा न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिहरूसँग भेट्नु तथा सम्पर्कमा रहनु संवैधानिक, कानुनी र व्यावसायिक आचारसंहिताको गम्भीर उल्लङ्घन भएको उल्लेख छ।

“न्यायाधीशहरूबाट सार्वजनिक रूपमा दिइएका स्पष्टीकरणले मात्र उठेका गम्भीर प्रश्नहरूको समाधान दिन सक्दैन,” वक्तव्यमा भनिएको छ, “न्यायमूर्तिबाट उच्चतम सदाचारको अपेक्षा गरिने भएकाले छानबिन नसकिएसम्म सम्बन्धित न्यायाधीशहरूलाई न्याय सम्पादनको कार्यबाट अलग राख्नु उचित हुन्छ।”

टीआई नेपालले न्यायपालिकामा उठेका प्रश्नहरूको गाम्भीर्यता र सार्वजनिक महत्त्वलाई ध्यान दिँदै संसद्‌को संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी आवश्यक निर्णय लिन आह्वान गरेको छ। साथै, सञ्चारमाध्यममा नाम जोडिएका र विवादमा परेका न्यायाधीशहरूको सम्पत्तिको समेत गहन छानबिन गर्न माग गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button