तपाईँ सुन्दै हुनुहुन्छः

मनसुन २०८३ समीक्षा बैठक सम्पन्न

काठमाडौँ । यस वर्षको मनसुन अवधिभर घटेका विपद् घटना, देखिएका चुनौती,समस्या तथा समाधानका लागि सिकाई सहित मनसुन २०८३ समीक्षा बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन समीक्षा बैठकमा जलवायु तथा मनसुनी विपदबाट हुने क्षति न्युनिकरण गर्न संभावित जोखिम क्षेत्रहरूमा २४ सै घण्टा खट्ने डेडिकेटेड उच्चस्तरीय संयन्त्र स्थापना र सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिइएको छ ।

बैठकमा आगामी दिनमा हुनसक्ने जलवायु तथा मनसुनी घटनाबाट जोगिन यथासक्य अत्याधुनिक प्रविधिको जडान र प्रयोग तथा अन्तरदेशिय पूर्वसूचना आदानप्रदान, पूर्वाधार निर्माण पहिले बहुप्रकोपीय जोखिम आंकलन, खोज, उद्धार तथा राहत सामग्रीको अग्रिम व्यवस्थापन गरिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरिएको थियो ।

बैठकमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा प्रस्तुत प्रतिवेदन अनुसार यस वर्षको मनसुन अवधिमा रसुवा भोटेकोशीमा गएको बाढि बाहेकको घटनामा देशभर १ सय ३३ जनाको मृत्यु, १४ बेपत्ता र २ सय २६ जना घाइते भएको छन् । रसुवा भोटेकोशी बाढीको विवरण भने छुट्टै प्रतिवेदन सार्वजनिक गर्ने प्राधिकरणले जनाएको छ । 

बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद्का घटनाहरूमा सरकार, गैरसरकारी संस्था, नागरिक समाज र सञ्चार क्षेत्रको साथ सहयोग र समन्वयले नै क्षति कम गर्न सकिने भन्दै यस्तो अवस्थामा सबैको सहयोग र समन्वयको लागि अपिल गर्नुभयो । 

भोटेकोशी बाढीले धेरै पाठ सिकाएको भन्दै कार्यकारी प्रमुख उप्रेतीले आगामी दिनमा पूर्व सूचना प्रणाली, जोखिम आंकलन, खोज तथा उद्धार, राहत वितरण लगायतका कार्यहरू बढी सबल र प्रभावकारी बनाउन नीतिगत तथा कार्यगत रुपान्तरणका लागि प्राधिकरणले गृहकार्य गरिरहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button