तपाईँ सुन्दै हुनुहुन्छः

रामनवमी कप भलिबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको हिलेमा मङ्गलवारबाट १८ औँ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता हिले भलिबल क्लबको आयोजनामा हिले खेलमैदानमा सुरु भएको हो । 

प्रतियोगिताको उद्घाटन खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिका विजयी भएको छ । उद्घाटन खेलमा हतुवागढी गाउँपालिकालाई तीन दुई सेटमा हराउँदै राम प्रसाद राई गाउँपालिकाले पहिलो जीत हात पारेको हो । रोमाञ्चक खेलमा रामप्रसाद राई गाउँपालिकाले हतुवागढी गाउँपालिकालाई १९—२५, २५—२३, २४—२६, २५—०९ र १५—१० को सेटमा पराजित गरेको हो । 

प्रतियोगितामा पूर्वका विभिन्न नौ पालिकाका टोलीहरूले सहभागिता जनाएका छन् । हतुवागढी र रामप्रसाद राई सहित धनकुटाको पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका; भोजपुरबाट अरुण, आमचोक गाउँपालिका र षडानन्द नगरपालिका; सङ्खुवासभाबाट सभापोखरी गाउँपालिका र झापाबाट कन्काई नगरपालिकाको टोलीले सहभागिता जनाएको क्लब अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो । 

प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । 

प्रतियोगिताको फाइनल खेल रामनवमीका दिन अर्थात् चैत १३ गते हुने आयोजकले जनाएको छ । हिलेमा रामनवमी कप भलिबल प्रतियोगिता २०५५ सालदेखि हरेक वर्ष रामनवमी को अवसरमा हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button