नेपालगन्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ७६ करोडको बजेट प्रस्तुत
नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगर सभाको १९औँ अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले बजेट प्रस्तुत गर्नुभएको हो ।
संघ र प्रदेशबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदान रकम रु ७६ करोड ४८ लाख ५० हजारसहित उक्त आकारको बजेट प्रस्तुत गरिएको हो । प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ २५ करोड अनुमान गरिएको छ भने घरजग्गा रजिष्ट्रेशनतर्फ १४ करोड अनुमान गरिएको छ । यस्तै चालूतर्फ ४२ करोड २५ लाख ५० हजार, वडा कार्यालयलाई २१ करोड, नगर स्तरीय तथा प्रवर्द्धनात्मकतर्फ १९ करोड ९० लाख, विषयगत शाखालाई ८ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ ।
बजेट अघि नगर प्रमुख विष्टले नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, उद्योग, व्यापार तथा व्यवसाय, पर्यटन, भूमि व्यवस्था तथा सहकारी, श्रम, रोजगार तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, आयुर्वेद तथा खानेपानी, शिक्षा, महिला, बालबालिका तथा सामाजिक समावेशीकरण, आवास, भवन तथा बस्ती विकास, भौतिक पूर्वाधार, यातायात, विद्युत् तथा स्वच्छ ऊर्जा, वन, वातावरण संरक्षण, फोहोरमैला तथा ढल व्यवस्थापन, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजश्व तथा स्रोत परिचालन, तथ्याङ्क, योजना र विकास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्