जग्गा नापजाँच भइसकेका परिवारलाई तत्काल लालपुर्जा वितरण गर्न माग
सुर्खेत । खाद्य अधिकार सञ्जाल भेरीगंगा सुर्खेतले स्थानीय तहबाट जग्गा नापजाँच भइसकेका परिवारलाई तत्काल लालपुर्जा वितरण गर्न माग गरेको छ ।

मञ्चका संयोजक गणेशबहादुर वलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुर्खेत पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोवासी तथा अधुरा–अपूरा जग्गा धनी परिवारलाई घरवाससँगै खेती गर्ने जग्गा समेत उपलब्ध गराउन माग गरेको हो ।
भूमिहीन सुकुम्वासीको लगत अर्थात् विवरण सङ्कलन नभएका ठाउँमा पनि तत्काल काम अघि बढाउन माग गरिएको छ । हाल भेरीगंगा नगरपालिकाभित्र ९४ भूमिहीन दलित परिवार, ७९ भूमिहीन सुकुम्बासी परिवार, ६४८१ अव्यवस्थित बसोबासी परिवार तथा ३१५८ अधुरा–अपूरा जग्गामा बसोबास गर्ने परिवार रहेको ज्ञापनपत्रमा बताइएको छ ।
यी परिवार कानुनीरुपमा भूमिको स्वामित्वविहीन हुँदा राज्यका विभिन्न सेवाहरूमा सहज पहुँच पाउन नसक्दा विकासका योजना निर्माण तथा कार्यान्वयन गर्ने क्षमता समेत कमजोर बनिरहेको सञ्जालका अध्यक्ष वलीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्