तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको जारी महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा आज पदाधिकारी चयनका लागि मतदान भएको छ । 

५ जना पदाधिकारी चयनका लागि भएको मतदानमा १ हजार २ सय ९० जना प्रतिनिधिले मतदान गरेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले बताउनुभयो ।

यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ । 

चितवनमा जारी महाधिवेशनमा रास्वपाका ३ हजार ९ सय ५९ महाधिवेशन प्रतिनिधिले भाग लिएका छन् । 

पदाधिकारी निर्वाचनको नतिजा आजै सार्वजनिक हुने र त्यस लगत्तै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम हुने रास्वपाले जनाएको छ । 

रास्वपाको महाधिवेशन आयोजक समितिले एक सूचना जारी गरी महाधिवेशन स्थलको हलमा आयोजना हुने शपथग्रहण कार्यक्रममा सहभागी हुने सबै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button