थामी समुदायको ‘सिलोके पालाखे (मुम्धुम)’ पुस्तक विमोचन
इलाम । माइजोगमाई गाउँपालिकाको अमर कल्याण भवनमा थामी समुदायको धार्मिक तथा सांस्कृतिक ग्रन्थ ‘सिलोके पालाखे (मुम्धुम)’ पुस्तक विमोचन तथा अग्रज सम्मान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल थामी समाज जिल्ला कार्य समिति इलामको आयोजनामा तथा कोशी प्रदेश सरकारको सहयोगमा प्रकाशित पुस्तकको विमोचन कार्यक्रम माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्यता, उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्य को उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा थामी समुदायका अग्रज व्यक्तित्वहरूको सम्मान गरिएको थियो। साथै समुदायको उत्थान, भाषा, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याएका दिवङ्गत अग्रजहरूको स्मृतिमा समेत सम्मान अर्पण गरिएको थियो। कार्यक्रममा थामी समुदायका अग्रज, बुद्धिजीवी, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
पुस्तक विमोचन समितिका संयोजक भक्त थामी रहेका थिए।
विशेष अतिथि उपाध्यक्ष प्रविना राईले समुदायको मौलिक ज्ञान, इतिहास र संस्कृतिलाई पुस्तकका माध्यमबाट संरक्षण गर्ने प्रयास उदाहरणीय रहेको बताउँदै यसले थामी समुदायको पहिचानलाई थप मजबुत बनाउने धारणा व्यक्त गरिन्। उनले यस्ता कृतिहरूले भावी पुस्तालाई आफ्नै भाषा, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
प्रमुख अतिथि अध्यक्ष थेबेले यस्ता कृतिले समुदायको मौलिक पहिचान संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
पुस्तक संयोजक भक्त थामीले थामी समुदायको जन्मदेखि मृत्युपर्यन्तका संस्कार, परम्परा र मुम्धुमलाई एकीकृत रूपमा पुस्तकमा समेट्ने प्रयास गरिएको बताए। उनले समुदायको मौलिक सम्पदालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए।







प्रतिक्रिया राख्नुहोस्