निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल भोली
जनकपुरधाम । जनकपुरधाममा जारी निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनल खेल एपिएफ र कोशी प्रदेशबीच भोली हुने भएको छ ।

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला र वीरगञ्जमा निर्धारण गरेको दुई खेलमध्ये एक खेल भए पनि अर्को वर्षाका कारणले रद्द भएको छ ।
वर्षाका कारणले आजको लागि निर्धारण भएको नेपाल एपिएफ क्लब तथा लुम्बिनी प्रदेशका बीचको खेल रद्द भएपछि एपिएफ स्वतः फाइनलमा प्रवेश गरेको छ ।
उता पर्सा जिल्लाको वीरगञ्जमा कोशी र बागमती प्रदेशका बीचमा भएको सेमिफाइनल खेलमा कोशीले ८ रनले जीत निकालेको छ । वर्षाका कारणले २० ओभरको खेल १० ओभरमा छोट्याउदा सुरुमा कोशीले व्याटिङ्ग गर्दै १ विकेटको क्षतिमा ७२ रन बनाएको थियो । कोशीका तर्फबाट अप्सारी बेगम १० रन, काजल श्रेष्ठ २७ बलमा २९ रन र रुवीना क्षेत्रीले २२ बलमा ३१ रन बनाएका थिए । बागमतीका तर्फबाट कञ्चन श्रेष्ठले १ विकेट लिएका थिए ।
७३ रनको लक्ष्य सहित व्याटिङ्ग गरेको बागमतीले ६ विकेटको क्षतिमा १० ओभर खेल्दै ६४ रन मात्र बनाएको थियो । बागमतीका तर्फबाट अस्मिता कर्माचार्यले १७ र विपिसा शाहीले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कोशीका तर्फबाट रुविना क्षेत्रीले २, अलिसा केडिया, अप्सारी बेगम र टिका साहले समान १–१ विकेट लिएका थिए ।
सात प्रदेश र एक विभागीय टिम गरेर कूल ८ टिमको सहभागिता रहेको निको कपको फाइनल खेल भोली शनिवार हुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्