बैजनाथको नीति तथा कार्यक्रम सर्वसम्मत स्वीकृत

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ। मङ्गलवार गाउँपालिका कार्यालयमा आयोजित २०औँ गाउँ सभामा अध्यक्ष प्रकाशबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभासद्हरूले एकमतका साथ अनुमोदन गरेका हुन् ।
‘समृद्ध बैजनाथ, मुहारमा मुस्कान’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात् गर्दै ल्याइएको नीति तथा कार्यक्रमले समुन्नत पूर्वाधार, गुणस्तरीय सेवा र नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ। यसले सुखी, समृद्ध र खुसी नागरिक निर्माणको विश्वासिलो आधार तयार गर्ने अपेक्षा गरिएको छ।
नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, कृषि, सिँचाइ तथा भू–उपयोग, पशुपन्छी तथा मत्स्यपालन, सहकारी, घरेलु तथा साना उद्योग, व्यापार तथा रोजगारी, युवा तथा खेलकुद, पर्यटन प्रवर्द्धन, धर्म–संस्कृति तथा कला, वन वातावरण, विपद् व्यवस्थापन, सुशासन, सेवा प्रवाह तथा सामाजिक समावेशीकरणलगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले गरिब तथा विपन्न वर्गका सबै जातजाति र समुदायका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने महत्त्वाकाङ्क्षी नीति पनि अघि सारेको छ। साथै सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पुस्तकालय, सुरक्षित खेलमैदान, खानेपानी, शौचालय, घेरबार तथा मर्मत–सम्भारका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
प्राविधिक शिक्षा र बहुमुखी क्याम्पस सञ्चालनका लागि आवश्यक पहल गर्ने, कृषि व्यवसायमा युवालाई आकर्षित गरी स्वरोजगार सिर्जना गर्ने, युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा बैजनाथ गाउँपालिका गोल्डकप प्रतियोगिता आयोजना गर्ने नीति पनि समेटिएको छ। त्यस्तै युवा तथा खेलकुद रणनीति तयार गर्ने, थारु संस्कृति संरक्षणका लागि सङ्ग्रहालय व्यवस्थापन गर्ने र पुराना विद्यालय भवनलाई क्रमशः सुविधा सम्पन्न बनाउँदै स्तरोन्नति गर्ने योजना समेत अघि सारिएको छ।
गाउँ सभामा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्याय, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
२०औँ गाउँसभाको दोस्रो बैठक बुधबार दिउँसो ३ बजे बस्नेछ। सो बैठकमा उपाध्यक्ष निर्मला रोकायले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्