बिचौलियाको दबदबाले बङ्गुर किसान मारमा
'फार्मबाट वार्षिक २५ लाखको कारोबार'
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहा मगरडाँडामा सञ्चालित ‘नानाको बङ्गुर फार्म’ ले व्यावसायिक पशुपालनमार्फत ग्रामीण क्षेत्रमा स्वरोजगार र आम्दानीको राम्रो उदाहरण प्रस्तुत गरेको छ।

बङ्गुरसँगै जंगली बँदेल पालन गर्दै आएको यस फार्मबाट वार्षिक २५ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ। तर, बङ्गुरको बजारीकरणमा देखिएको समस्या र बिचौलियाको दबदबाका कारण किसानहरू मारमा परेको गुनासो फार्म सञ्चालक भुवन राईले गर्नुभएको छ।
२०७६ सालदेखि सञ्चालनमा आएको उक्त बङ्गुर फार्ममा सुरुमा जंगली बँदेलका एक भाले र एक पोथीबाट व्यवसाय थालिएको थियो। हाल भने आफ्नै फार्ममा नियमित रूपमा बँदेल उत्पादन हुँदै आएको छ। फार्मकी सञ्चालक देवीकुमारी राईका अनुसार बङ्गुरसँगै जंगली बँदेलको व्यावसायिक पालनपोषणले राम्रो आर्थिक प्रतिफल दिन थालेको छ।
बङ्गुरमा बिचौलियाको सास्ती, बँदेलको बजार सहज
सञ्चालक भुवन राईका अनुसार बङ्गुर व्यवसायबाट मात्रै वार्षिक १५ देखि १८ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ। तर, उत्पादनको उचित मूल्य नपाउँदा अपेक्षाअनुसार लाभ लिन नसकिएको उहाँ बताउनुहुन्छ।
‘बिचौलियाका कारण किसान प्रत्यक्ष रूपमा बजारसम्म पुग्न सकिरहेका छैनन्। हामी दुःख गरेर उत्पादन गर्छौं, तर मूल्य निर्धारण भने अरूले नै गरिदिन्छन्,’ राईले भन्नुभयो।
बङ्गुरको तुलनामा जंगली बँदेलको बजार भने सहज रहेको उहाँको अनुभव छ। फार्मबाट बँदेलका पाठापाठीदेखि मासु प्रयोजनका लागि वार्षिक ६ देखि ८ लाख रुपैयाँसम्मको बिक्री हुने गरेको छ। पछिल्लो समय बँदेलको मासुप्रति उपभोक्ताको आकर्षण र माग दुवै बढ्दै गएको राईले बताउनुभयो।
उत्पादन लागत महँगो, सरकारी अनुदानमा ‘पहुँचवाला’कै हालीमुहाली
बङ्गुर व्यवसायमा किसानहरूले अनेकौँ चुनौती सामना गरिरहेका छन्। उत्पादन लागत दिनानुदिन बढ्दै गए पनि बजार मूल्य स्थिर नहुनु, बिक्रीका लागि भरपर्दो बजारको अभाव हुनु र बिचौलियाकै भर पर्नुपर्ने बाध्यताले किसानहरू निराश बनेका छन्।
यसैगरी, राज्यबाट उपलब्ध हुने अनुदान वितरण प्रक्रियाप्रति पनि सञ्चालक राईले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। ठूलो लगानी गरेर व्यावसायिक रूपमा फार्म सञ्चालन गर्ने वास्तविक किसानभन्दा पहुँच र नातागोताका आधारमा झोले वा साना व्यवसायीले अनुदान हत्याउने गरेको उहाँको आरोप छ।
‘बङ्गुरले खाने दाना तथा अन्य सामग्रीमा कुनै प्रकारको सहुलियत वा अनुदान छैन। वास्तविक किसानभन्दा पहुँचवालाले लाभ लिने परिपाटीले व्यावसायिक किसानहरू थप मारमा परेका छन्,’ राईले गुनासो गर्नुभयो।
राज्यको ध्यान कहिले पुग्ने?
स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै मासु उत्पादनमा आत्मनिर्भरता थपेको यस फार्मका सञ्चालकद्वयले कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्ने किसानका लागि राज्यले लक्षित कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्। सरकारले उत्पादनमा सहुलियत र प्रत्यक्ष बजार पहुँचको व्यवस्था नगरिदिएसम्म किसान सुरक्षित हुन नसक्ने उनीहरूको भनाइ छ।
वार्षिक २५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको ‘नानाको बङ्गुर फार्म’ जस्ता उद्यमलाई प्रोत्साहन गर्न सके ग्रामीण अर्थतन्त्र थप सुदृढ बन्ने र कृषि क्षेत्रबाटै आत्मनिर्भरता हासिल गर्न सकिने स्थानीय किसानहरूको ठम्याइ छ।








प्रतिक्रिया राख्नुहोस्