तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा तारजाली सहितको मतगणना स्थल तयार

धनकुटा । धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । 

मतदान केन्द्रमा कर्मचारी पुगेसँगै मतगणना स्थल तयारी बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान सम्पन्न भएसँगै तत्काल मतगणना सुरु गर्न सकिने गरी मतगणना स्थल व्यवस्थित रूपमा तयार पारेको हो । 

धनकुटाको सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोही भवनको ठूलो हललाई मतगणना स्थलका रूपमा व्यवस्थापन गरेको छ । 

सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङहाङका अनुसार मतपेटिका सुरक्षित रूपमा भण्डारण गर्ने स्थान र मतगणना गर्ने क्षेत्र छुट्टाछुट्टै निर्धारण गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै हलभित्र तार जालीको बार लगाइएको छ भने कर्मचारी तथा सुरक्षाकर्मीलाई सहज आवतजावतका लागि छुट्टै ढोका निर्माण गरिएको छ ।

मतगणना स्थलमा सिसिटिभी निगरानी, आवश्यक प्रकाश व्यवस्था, टेबल–कुर्सी, गणनाका लागि आवश्यक सामग्री तथा दलका प्रतिनिधि बस्न मिल्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । मतगणना प्रक्रियालाई पारदर्शी, व्यवस्थित र शान्तिपूर्ण बनाउन विशेष सतर्कता अपनाइएको हो । 

फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सुरक्षा व्यवस्थासहित मतगणना स्थलमा ल्याइनेछ । मत पेटीका ल्याउने सबै तयारी जिल्ला प्रशासन कार्यालयले गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । जिल्लाभर तोकिएका मतदान केन्द्रहरूमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली खटाइसकिएको छ । मतदान शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउने तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

धनकुटामा १४ राजनीतिक दलका र तीन स्वतन्त्र गरी १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button