तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभा भवनको शिलान्यास 

कास्की । गण्डकी प्रदेशसभा भवनको मङ्गलवार शिलान्यास गरिएको छ ।

गण्डकीमा प्रदेश संरचना सुरु भएको आठ वर्षपछि बन्न लागेको नयाँ भवनको गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नु भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरमा अहिलेको अस्थायी कार्यालयकै पश्चिमतर्फ २५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपैयाँ लागतमा उक्त भवन बन्ने भएको हो ।

सहरी विकास तथा भवन कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम भवन निर्माण हुने गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो  । श्रेष्ठ एन्ड सन्स इस्ट वेस्ट जेभी काठमाडौँले उक्त भवनको जिम्मा पाएको छ ।

२०८१ माघ १८ गते भवन निर्माणको सम्झौता भएर केही काम अघि बढिसकेको सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने कामहरू सकिएका छन् । डिपिआरअनुसार भवनको लागत ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ रहेकोमा ३२.४१ प्रतिशत घटेर श्रेष्ठ एन्ड सन्सले ठेक्का पाएको हो । भवन ३ तलाको बन्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button