तपाईँ सुन्दै हुनुहुन्छः

मध्य तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित 

बीरगंज। विगत केही दिनयता वीरगन्ज सहित मध्य तराइका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ।

पश्चिमी वायुको प्रभावसँगै लामो समयदेखि वर्षा नहुनु र लगातार बढ्दो तापक्रमले गर्दा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएका हो ।

वीरगन्जमा विगत एक सातादेखि दैनिक तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने गरेकाले दिनचर्या अत्यन्त कठिन बनेको छ । वीरगञ्जका व्यापारी बृजेश टेमानीका अनुसार चर्को घाम र तातो हावाका कारण बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको छ । “पहिले जस्तो किनमेल गर्न आउने ग्राहक छैनन्, दिउँसो त बजार लगभग सुनसान जस्तै हुन्छ,” उहाँले बताउनुभयो ।

गर्मीको असर सरकारी सेवा प्रवाहमा समेत देखिएको छ । जिल्लाका अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति उल्लेखनीय रूपमा घटेको कर्मचारीहरू बताउँछन् । अत्यधिक तापक्रमका कारण दिउँसो बाहिर निस्कनै कठिन भएपछि दैनिक प्रशासनिक कामकाज समेत सुस्त बनेको छ ।

यसैबीच, गर्मीको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी परेको छ । अचानक बढेको तापक्रमसँगै बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको वीरगञ्जस्थित नारायणी अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता उदयनारायण सिंहका अनुसार अहिले दैनिक करिब ६ सयदेखि ८ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

उहाँका अनुसार झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्ने तथा निर्जलीकरणसम्बन्धी समस्याबाट पीडित बिरामीको संख्या तीव्र रूपमा बढेको छ । “अत्यधिक गर्मीका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको छ, कतिपय बिरामीलाई अन्य स्वास्थ्य संस्थामा पठाउनुपर्ने अवस्था पनि आएको छ,” प्रवक्ता सिंहले बताउनुभयो ।

चिकित्सकहरूका अनुसार यस्तो चर्को गर्मीमा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दैनिक मजदुरी गर्ने श्रमिक वर्ग बढी जोखिममा हुन्छन् । दिउँसोको समयमा बाहिर काम गर्दा लु लाग्ने, शरीरमा पानीको कमी हुने र अचानक बेहोस हुने जोखिम उच्च रहने चिकित्सकहरूको भनाइ छ । उनीहरूले अत्यावश्यक कामबाहेक दिउँसो घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन र हल्का खाना खान सुझाव दिएका छन् ।

स्थानीयवासीहरूले पछिल्लो समय बढ्दो तापक्रम र वर्षाको अभावले दीर्घकालीन समस्या निम्तिन सक्ने भन्दै सम्बन्धित निकायले समयमै सतर्कता र पूर्वतयारी अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button