तपाईँ सुन्दै हुनुहुन्छः

तीन दशकपछि पूरा हुँदै जीतपुर–बकुलियावासीको खानेपानी सपना

बारा ।जीतपुर र बकुलिया क्षेत्रका स्थानीयवासीले अब बकुलिया खानेपानी ट्याङ्कीबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन्।

लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको खानेपानी आयोजना अन्ततः वितरणको चरणमा पुगेपछि स्थानीयवासीमा उत्साह छाएको छ।

भवानीपुर–जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले घरधुरीमा धारा जडानका लागि आवेदन फाराम वितरण सुरु गर्ने तयारी गरेको छ। संस्थाका अध्यक्ष हरेराम कामीद्वारा जारी सूचनामा खानेपानी सेवा लिन इच्छुक उपभोक्तालाई आवश्यक कागजातसहित संस्थाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्राविधिक र प्रशासनिक अल्झनको अन्त्य
करिब तीन दशकअघि आवश्यक पूर्वाधारसहित निर्माण गरिएको बकुलिया खानेपानी ट्याङ्की विभिन्न प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय कारणले पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। पटक–पटक योजना बने पनि कार्यान्वयन हुन नसक्दा जीतपुर र बकुलियावासी सुरक्षित खानेपानीको सुविधाबाट वञ्चित हुँदै आएका थिए।

यसअघि पाइपलाइन विस्तारका क्रममा सडक तथा पुल क्षेत्रमा प्राविधिक समस्या देखिएका कारण काम पटक–पटक प्रभावित भएको थियो। कतिपय स्थानमा पाइप बिछ्याउने अनुमति, सडक कटान तथा संरचना व्यवस्थापनका कारण ढिलाइ भएको थियो। तर पछिल्लो समय मुख्य राजमार्गको पूर्वपट्टीका बासिन्दालाई खानेपानी पुर्‍याउने उद्देश्यका साथ वितरण सञ्जाल विस्तारको काम तीव्र रूपमा अघि बढाइएको छ।

स्थानीय सरकारको तदारुकता
खानेपानी वितरणको काम अहिले अन्तिम चरणमा पुगेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख राजन पौडेलले आयोजनाको नियमित अनुगमन गर्दै सम्बन्धित समिति तथा प्राविधिक पक्षलाई समयमै काम सम्पन्न गर्न निरन्तर दबाब दिएका कारण कामले गति लिएको हो।

संस्थाका पदाधिकारीका अनुसार अधिकांश मुख्य पाइपलाइन जडानको काम सम्पन्न भइसकेको छ भने घरधुरीसम्म धारा जडान गर्ने प्रक्रिया सुरु हुन लागेको छ। प्रारम्भिक चरणमा जीतपुर र बकुलिया क्षेत्रका सयौँ घरधुरीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

कार्यालय व्यवस्थापन गरिँदै
जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्वाधार शाखा प्रमुख इन्जिनियर अभयकान्त झाका अनुसार खानेपानी संस्थाको कार्यालय व्यवस्थित बनाउने कार्य भइरहेको छ। यसअघि कार्यालयको उचित व्यवस्थापन नहुँदा धारा जडानको माग गर्न आउने सेवाग्राहीहरू कार्यालय बन्द भएको देखेर फर्किने गरेको गुनासो आएकाले अहिले कार्यालयलाई व्यवस्थित बनाउन लागिएको झाले जानकारी दिनुभयाे।

स्थानीयमा खुसीयालीस् लामो समयदेखि प्रतीक्षा गरिएको खानेपानी आयोजना सञ्चालनमा आउन लागेपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। नियमित र स्वच्छ खानेपानी उपलब्ध भएपछि दैनिक जीवन सहज हुनुका साथै स्वास्थ्य जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ। खानेपानी वितरण औपचारिक रूपमा सुरु भएपछि वर्षौंदेखि अधुरो रहेको जीतपुर–बकुलियावासीको सुरक्षित खानेपानी पिउने सपना अन्ततः साकार हुने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button