तपाईँ सुन्दै हुनुहुन्छः

परिवार नियोजन सेवाबाट टाढिँदै पाँचथरका नागरिक, बढ्दो चुनौती

पाँचथर। पाँचथर जिल्लामा पछिल्ला वर्षहरूमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरूको संख्या निरन्तर घट्दै गएको पाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार अधिकांश स्थानीय तहमा नयाँ प्रयोगकर्ता र प्रयोग प्रतिशत दुवैमा गिरावट आएको हो।

लगातार घट्दै प्रयोगकर्ता, पाँच वर्षमा ५ प्रतिशत बिन्दुको गिरावट
आर्थिक वर्ष २०७९/८० मा जिल्लाभर परिवार नियोजनका नयाँ प्रयोगकर्ता १५.९४ प्रतिशत रहेकोमा आव २०८०/८१ मा घटेर १२/४१ प्रतिशत र आव २०८१/८२ मा ११/०४ प्रतिशतमा झरेको छ। यो तीन वर्षको अवधिमा झण्डै ५ प्रतिशत बिन्दुको गिरावट हो।

जिल्लाका ८ वटै स्थानीय तहमा प्रयोगकर्ता घट्दो क्रममा छन्। जिल्लाको सदरमुकाम फिदिम नगरपालिकामा समेत परिवार नियोजनका प्रयोगकर्ताको अनुपात घटेको देखिन्छ। यस प्रवृत्तिले भविष्यमा मातृ तथा शिशु स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने स्वास्थ्यकर्मी लक्ष्मी जोशी बताउनुहुन्छ।

स्थायी बन्ध्याकरणमा चरम निराशा
परिवार नियोजनको स्थायी साधन (महिलाका लागि मिनील्याप र पुरुषका लागि भ्यासेक्टोमी) प्रयोग गर्नेको संख्या पाँचथरमा अत्यन्तै न्यून छ। गत आर्थिक वर्षमा जिल्लाभरमा मात्र एक जना पुरुष र चालू आर्थिक वर्षमा एक जना महिलाले मात्र स्थायी बन्ध्याकरण गरेका छन्।

कतिपय दम्पती सन्तानको रहर पुगिसके पनि स्थायी बन्ध्याकरण गर्न हिचकिचाउँछन्। फिदिमका एक दम्पती भन्छन्, “हामी आफैँ सचेत छौँ, त्यसैले स्थायी बन्ध्याकरण गर्दैनौँ। बन्ध्याकरण गरेपछि स्वास्थ्यमा खराबी आउँछ भन्ने डर छ।”

भ्रम, डर र वैदेशिक रोजगार मुख्य कारण
स्वास्थ्यविज्ञ तथा सरोकारवालाहरूका अनुसार परिवार नियोजनका साधनबारे समाजमा अझै पनि विभिन्न भ्रम र गलत धारणाहरू विद्यमान छन्। फाल्गुनन्द–१ का एक नवविवाहित दम्पती भन्छन्, “साधन प्रयोग गरेपछि पछि बच्चा बस्दैन भन्छन्, त्यही भएर डर लाग्छ।”

स्वास्थ्यकर्मी डा. बुद्धि बहादुर थापाका अनुसार परिवार नियोजनसम्बन्धी चेतना र ठोस कार्यक्रमहरूको कमीका कारण प्रयोगकर्ता घटेका हुन्। साधन प्रयोग गर्दा कसैलाई सामान्य र अस्थायी साइड इफेक्ट देखिए पनि सबैमा एकै नासको नहुने उहाँको भनाइ छ।

जिल्लाको सदरमुकाम तथा ग्रामीण भेगका औषधि पसलहरूमा सबैभन्दा बढी बिक्री हुने औषधिमा ‘इकोन’ (भ्अयल) पर्दछ। यो आकस्मिक गर्भनिरोधक चक्की भए तापनि धेरैले यसलाई नियमित परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्ने गरेका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार एउटै व्यक्ति पटक-पटक इकोन किन्न आउने गरेका छन्। यो कडा रसायनबाट बन्ने भएकाले महिलाको हर्मोन लगायत प्रजनन स्वास्थ्य र समग्र स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ। बलात्कार वा विशेष परिस्थितिमा बाहेक यसलाई नियमित साधन बनाउनु खतरनाक हुने विज्ञहरूको चेतावनी छ।

सुरक्षित गर्भपतन गराउने बढे, साधन प्रयोग गर्ने घटे
जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या उच्च रहे पनि गर्भपतन पश्चात परिवार नियोजनको साधन प्रयोग गर्ने दर भने घट्दो छ।

स्वास्थ्य संस्थाका अनुसार गत वैशाख महिनामा मात्र जिल्ला अस्पतालमा ४२ जना सुत्केरी हुँदा ६० जनाभन्दा बढीले गर्भपतन गराएका छन्। अस्पतालका सूचना अधिकारी नवीन रेग्मीका अनुसार कतिपय महिलाहरू दोस्रो, तेस्रो पटकसम्म पनि गर्भपतनका लागि आउने गर्छन्। अनपेक्षित गर्भको उत्तम विकल्प परिवार नियोजनको साधन भए पनि चेतना अभावले महिलाहरू स्वास्थ्य जोखिममा पारिरहेका छन्।

बजेट अभाव र व्यवस्थापकीय चुनौती
दुर्गम पहाडी जिल्ला भएकाले ग्रामीण भेगमा परिवार नियोजनका शिविरहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। चालू आर्थिक वर्षमा प्रदेश सरकारले यस कार्यक्रमका लागि मात्र ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

उक्त बजेटले जिल्लाभर प्रभावकारी रूपमा शिविर चलाउन कठिन भएको कार्यक्रम संयोजक राजेश मिश्र बताउनुहुन्छ। बन्ध्याकरणको अभिलेख प्रत्येक स्वास्थ्य संस्थामा नहुनु, लामो अवधिका साधन निश्चित स्वास्थ्य संस्थामा मात्र उपलब्ध हुनु र निजी स्वास्थ्य संस्थाबाट वितरण हुने साधनको विवरण प्राप्त नहुनु जस्ता समस्या रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लवेरेन्ज साहले जानकारी दिनुभयो।

आगामी रणनीति र सुधारका मार्गहरू
पाँचथरमा परिवार नियोजनका प्रयोगकर्ता बढाउन सामग्री मात्र उपलब्ध गराएर पुग्दैन, बरु समुदायस्तरमा रहेका भ्रम हटाउनु आवश्यक देखिन्छ। स्वास्थ्यकर्मी राजेश मिश्रका अनुसार आगामी दिनमा निम्न कदम चाल्न जरुरी छ:

संयुक्त सचेतना: परिवार नियोजनलाई महिलाको मात्र नभई दम्पतीको साझा जिम्मेवारीका रूपमा स्थापित गर्ने।

पुरुष सहभागिता: पुरुषले प्रयोग गर्ने साधन (कन्डम र भ्यासेक्टोमी)बारे सचेतना बढाउने।

एकीकृत सेवा: स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई अनिवार्य परामर्श दिने र प्रसूति सेवा तथा परिवार नियोजनलाई एकीकृत गर्ने।

युवालक्षित कार्यक्रम: नवविवाहित तथा युवा दम्पतीलाई लक्षित गरी गोप्य र सहज सेवा उपलब्ध गराउने।

घरदैलो अभियान: सेवा छोडेका प्रयोगकर्ता पहिचान गरी पुनः सेवामा जोड्ने र दुर्गम क्षेत्रमा नियमित सामग्री पुर्‍याउने।

निष्कर्ष
पाँचथर जिल्लाको तथ्याङ्कले सुत्केरीपछिको परिवार नियोजन सेवामा केही सुधार देखाए पनि समग्र गर्भनिरोधक प्रयोग दर घट्नु स्वास्थ्य प्रणालीका लागि चुनौती हो। परिवार नियोजनलाई केवल एउटा स्वास्थ्य कार्यक्रमका रूपमा मात्र नहेरी मातृ तथा शिशु स्वास्थ्य, महिला सशक्तीकरण र दिगो विकाससँग जोडेर स्थानीय तहले प्राथमिकता दिनु आवश्यक देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button