रेडियो नेपालकर्मी पाण्डे इलाम नगरपालिकाद्वारा सम्मानित

इलाम । रेडियो नेपालकर्मी सविता पाण्डे इलाम नगरपालिकाद्वारा सम्मानित हुनुभएको छ ।
पाण्डे इलाम नगरपालिकाको नगरसभा १८औँ अधिवेशनको अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा आज सम्मानित हुनु भएको हो ।
नेपाली काङ्ग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे , इलाम नगरपालिकाका प्रमुख केदार थापा लगायतले नगद २१ हजारसहित सम्मान पत्र र दोसल्लासहित पाण्डेलाई सम्मान गर्नुभयो।
२०६४ सालदेखि इलामको पत्रकारिता क्षेत्रमा उत्कृष्ट पत्रकारको रुपमा जनतालाई सूचनाको हकबाट सुसुचित गराउने कार्य गरी सिर्जनशील तथा उत्कृष्ट पत्रकारको भूमिका निर्वाह गर्दै , पत्रकारिता क्षेत्रको माध्यबाट वातावरण प्रवर्धन, महिला सचेतना अभिवृद्धि, समाजको आर्थिक, सामाजिक रुपान्तरणको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरी सम्मान गरिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो ।
२०६४ सालदेखि इलामको नेपालवाणी एफएमबाट पत्रकारिता सुरु गर्नुभएकी पाण्डे २०७२ सालदेखि हालसम्म रेडियो नेपालको इलाम संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।
पाण्डेको महिला, दलित समुदाय, पछाडि परेका समुदायको मुद्दामा प्राथमिकता साथ रेडियो कार्यक्रम उत्पादन र प्रसारण गरी विगतमा इलाम एक्सप्रेस दैनिक, हसना म्यागजिन, मकालु टेलिभिजनमा काम गरेको अनुभव रहेको छ । उहाँले इलामका अग्रणी महिला सरस्वती राई , जसोदा खाकी र विष्णु दाहालको योगदान बारे खोज अनुसन्धान समेत गर्नुभएको छ ।
कार्यक्रममा विभिन्न विद्यामा योगदान पुर्याउने ७ जना व्यक्ति तथा २ वटा संस्थालाई नगदसहित सम्मान गरिएको थियो ।
यसैगरी सो अवसरमा अनिवार्य अवकाश प्राप्त शिक्षक, उत्कृष्ट शिक्षक, उत्कृष्ट निजी तथा सामुदायिक विद्यालय , २०८१ र २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
नगरसभाको अधिवेशन भोलि बिहानदेखि सुरु हुने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्