तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिता हुने

नेपालगञ्ज । बाँकेमा प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका १५ विद्यालयका ६५ जना विद्यार्थीहरूको सहभागिता रहने आयोजक शिखा एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सूर्यमणि अधिकारीले जानकारी दिनुभयो । जसमा १७ जना महिला र ४८ जना पुरुष छन् । यस प्रकारको प्रतियोगिता काठमाडौँ बाहिर पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । प्रतियोगितामा ८ देखि १७ बर्ष उमेरका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । शिखाले आफ्नै पौडी पोखरीमा प्रतियोगिता आयोजना गर्दैछ । 

पौडी खेलको विकास गर्ने उद्देश्यका साथ विद्यालयले नेपालगञ्ज पौडी क्लबसँग समन्वय गरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको अधिकारीले बताउनुभयो । यसले पौडी खेलाडीहरूको प्रतिभालाई उजागर गर्ने आयोजकको विश्वास छ । पत्रकार सम्मेलनमा शिखा एकेडेमीका अध्यक्ष गोपाल प्रसाद अधिकारी, सिइओ डा. राजकुमार सुवेदी, प्रिन्सिपल ई. राजीव सुवेदी लगायतले विद्यालयबारे जानकारी गराउँदै पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको बताउनुभएको थियो । त्यस अवसरमा किड्स किंगडमका अध्यक्ष माधव प्रसाद अधिकारी, स्विमिङ संघ लुम्बिनी उपाध्यक्ष संजय थापा लगायत विद्यालय सञ्चालक सदस्यहरूको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button