भोजपुर प्रतिभा पुरस्कार शाक्यलाई प्रदान गरिने
भोजपुर । साहित्यिक संस्था त्रिवेणी साहित्य प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिने ‘भोजपुर प्रतिभा पुरस्कार’ यस वर्ष भने प्रेम कुमार शाक्यलाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशि २२ हजार दुई सय २२ रुपैयाँ रहेको छ ।

भोजपुर नगरपालिका–१२, टक्सार निवासी शाक्यलाई उहाँले वाद्यवादनसहित विभिन्न क्षेत्रमा खेल्नुभएको भूमिकाको कदर गर्दै प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका सचिव घमचन्द्र दाहालले बताउनुभयो । २०४५ सालदेखि वाद्य वादकको रुपमा अनवरत क्रियाशील शाक्य विशेषतः नेवारी समुदायमा प्रचलित वाद्य सामाग्री, हार्मोनियम, तबला लगायतमा निपुण हुनुहुन्छ ।
नेवारी वाद्य सामाग्री बजाउने सीप हस्तान्तरणका लागि स्थानीय स्तरमा नियमित र विभिन्न जिल्लामा प्रशिक्षण समेत गराउँदै आउनुभएका शाक्यले एक दर्जन बढी ज्ञानमाला भजनमा सङ्गीत समेत दिई सक्नुभएको छ ।
त्रिवेणी साहित्य प्रतिष्ठानले भोजपुर प्रतिभा पुरस्कार हरेक वर्ष साहित्य, कला र सङ्गीतमा योगदान गर्ने ब्यक्तित्वहरुलाई समर्पित गर्दै आएको संस्थाका अध्यक्ष सुवास कुमार श्रेष्ठले जानकारी दिनुभयो । यस अघि भोजपुर प्रतिभा पुरस्कार २०७९ बाट शेरबहादुर मोक्तान (मोक्तान भाइ) लाई र २०८० मा सर्जक इन्द्रसुर बेल्टारेलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्