तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रथम वर्षमा ३८ जना विदेशी विद्यार्थी भर्ना 

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका विदेशी विद्यार्थीहरूलाई स्वागत गरिएको छ । विश्वविद्यालयमा चालु शैक्षिक सत्रको नयाँ ब्याचमा ३८ जना विदेशी विद्यार्थीहरू भर्ना भएका छन् । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा‍‍ तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, योजना तथा मूल्याङ्कन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले विद्यार्थीहरूलाई एडमिसन अफर लेटर प्रदान गरेर स्वागत गर्नुभएको हो ।

चालु शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ३७ जना र स्नातक तहमा एकजना विद्यार्थी भर्ना भएको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा। कुमार खड्काले जानकारी दिनुभयो । भर्ना भएका विद्यार्थीमध्ये ३५ जना चिनियाँ, दुईजना भारतीय र एकजना मलेसियन रहेका छन् ।

स्नातकोत्तर तह अनुवाद तथा व्याख्या विषयमा चीनका ८ जना र भारतका एकजना विद्यार्थी रहेका छन् । त्यस्तै स्नातकोत्तर तह बुद्धिजम एण्ड नेपाल स्टडिजमा २७ जना चीन र एकजना मलेसियाका विद्यार्थी रहेका छन्। त्यसै गरी स्नातक तह बिटिसिएसओलमा एकजना भारतका विद्यार्थी भर्ना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका लाइब्रेरी प्रमुख डाक्टर शारदा पौडेलले बताउनुभयो ।

कार्यक्रममा बौद्ध अध्ययन संकायका डिन डा। माणिकरत्न शाक्यले लुम्बिनीमा बसेर बौद्ध अध्ययनसहितका विषयहरू पढ्न पाउनु विदेशी विद्यार्थीका लागि निकै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विदेशी विद्यार्थी भर्नाका लागि विश्वविद्यालयले सहजीकरण गरिएको बताउँदै लामो तथा छोटो अवधिका विषयहरू पढ्न सकिने बताउनुभयो ।

विश्वविद्यालयले विदेशी विद्यार्थीहरूको सुविधाका लागि अन्तर्राष्ट्रियस्तरको छात्रावास निर्माणको थालनी समेत गरेको छ । विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै विदेशी विद्यार्थी आकर्षण गर्ने विश्वविद्यालयले योजना बनाएको लुम्बिनी बौद्ध विश्वविद्यालयमाका क्याम्पस प्रमुख डाक्टर नीर बहादुर गुरुङले जानकारी दिनुभयो ।

विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिमा विदेशी विद्यार्थीहरू भर्ना हुँदै आएका छन् । विद्यावारिधिमा विदेशीका लागि १० जनाको कोटा निर्धारण गरी भर्ना खुलाइएको डिन कार्यालयले जनाएको छ ।

स्वागत कार्यक्रममा विद्यार्थी यु च्याच्याले लुम्बिनीमा अध्ययन गर्न पाउँदा आफू उत्साहित भएको बताउनुभयो । ‘मैले विश्वविद्यालयमा भर्ना पाए, म निकै खुसी छु, ’उहाँले भन्नुभयो । उहाँले नेपाल र चीनबीचको प्राचीन सम्बन्धलाई स्मरण गर्दै आफूहरूले बुद्ध जन्मस्थलबाट महत्वपूर्ण शिक्षा हासिल गर्ने विश्वास गर्नुभयो ।

त्यस्तै क्रिञ्जल वर्नवालले विश्वविद्यालयमा अध्ययन गर्दा आफू निकै उत्साहित भएको बताइन् । भारतको गुजारत घर भएकी उनी स्नातक तहमा बिटिसिएसओल अध्ययनका लागि विश्वविद्यालयमा भर्ना भएकी हुन् ।

विदेशी विद्यार्थीहरूले छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । लुम्बिनीमा विश्वविद्यालयले छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै छात्रावास सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button