निर्यातमुखी उद्योगलाई सरकारले सहयोग गर्छ : मन्त्री भण्डारी
नेपालगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ मा रहेको स्टार पोली पाइप इण्डष्ट्रिज प्रालिको उद्घाटन गर्दै उहाँले उद्योग प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । स्टार पोली पाइपले लुम्बिनी प्रदेशमा मात्रै नभएर नेपालभर तथा भारतसम्म पनि उत्पादित सामग्रीको बजारीकरण गर्न सक्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।
६५ करोडको लागतमा स्टार पोली पाइप इन्डष्ट्रिज प्रालि सञ्चालनमा आएको छ । प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडिपिई, सिपिभिसी, युपिभिसी, बोरवेल तथा गार्डेन पाइप र फिटिङको उत्पादन गर्दै आइरहेको जानकारी दिनुभयो । कार्कीले बजारमा आर्थिक मन्दी भए पनि स्टार पोल पाइपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामग्रीको उत्पादन गरिरहेको बताउनुभयो ।
कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाइप तथा फिटिङ सामग्रीहरु उत्पादन गर्दै आइरहेको कम्पनीका बिक्री प्रमुख दिनेशराज विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्