तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ

काठमाडौँ । संसदीय सुनुवाई समितिले आज रुसी महासङ्घ, साउदी अरब, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।
समितिको सिंहदरबारमा बसेको बैठकले रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाम्फेको संसदीय सुनुवाइ गरेको हो ।
संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै आफूले जिम्मेवारी पाएको देश र नेपालबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने, नागरिक स्तरको सम्बन्ध विस्तार गर्ने, कृषि, प्रविधि, लगानी र पर्यटन लगायतका क्षेत्रमा भूमिका खेल्ने बताउनुभएको छ ।
सुनुवाईका क्रममा रुसका लागि प्रस्तावित राजदूत प्रा.डा.जङ्गबहादुर चौहानले दुई देशबीच उच्चस्तरीय राजकीय भ्रमण, रुसमा रहेका नेपाली नागरिकको हित, द्विपक्षीय व्यापार प्रवर्द्धन, आर्थिक सहयोग र पर्यटन प्रवर्द्धनमा पहल गर्ने बताउनुभयो ।
साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकालको साउदी अरबमा श्रम सम्झौताको पुनरावलोकन, नेपाली श्रमिकहरूलाई आवश्यक सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, नेपालको आफ्नै दूतावास भवन बनाउन पहल गर्ने, आवश्यक भाषिक सीप, आधारभूत कार्यगत सीप वा ज्ञान अनिवार्य गर्ने कुरामा आफूले काम गर्ने बताउनुभयो ।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राध्यापक डा.कपिलमान श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालमा लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, दुई देशबीचको सम्बन्ध सुदृढीकरणका लागि आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्ने, प्रत्यक्ष उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने, अनुदान बढाउने, कृषि, ऊर्जा र नेपालको पर्यटन प्रवद्र्धनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button