तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा रक्त सङ्कलन घुम्ती बस सेवा सुरु

नेपालगन्ज । बाँकेमा रक्त सङ्कलन घुम्ती बस सेवा सुरु भएको छ । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त सङ्कलन घुम्ती बस सेवा सञ्चालन गरेको हो । 

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशका लागि रक्त सङ्कलन बस सेवा आज एक कार्यक्रमका बीच रेडक्रसलाई हस्तान्तरण गरेको हो । 

एनआरएनएका अध्यक्ष डा.बद्री केसीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनालाई बसको चाबी हस्तान्तरण गर्नुभएको थियो । 

बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र डा.केसीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । 

अत्याधुनिक सेवा सुविधा सहितको वातावरण अनुकूलित बस सेवामा प्राविधिक टिम, रगत सङ्कलन कक्ष, भण्डारण फ्रिज, आराम कक्षको व्यवस्था छ । ग्रामीण इलाकामा पुगेर रगत सङ्कलन गर्न सहजता पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त सङ्कलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताउनुभयो । अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख राईले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त सङ्कलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गर्नुभयो । उहाँले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत सङ्कलन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

एनआरएनएका अध्यक्ष डा.केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभयो । 

कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना, रक्तदाता संस्थाका तर्फबाट जनमत अर्धसाप्ताहिकका पूर्णलाल चुके, रेडक्रस बाँकेकी उपसभापति शान्ति श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button