अनुसन्धानका कार्यक्रम तय गर्दै कृषि अनुसन्धान निर्देशनालय

नेपालगन्ज । बाँके खजुरास्थित कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशले अनुसन्धानका योजना तय गर्न छलफल थालेको छ ।
प्रादेशिक कृषि प्राविधिक कार्य समूह बैठक गरेर कृषि शिक्षा, अनुसन्धान र विकास क्षेत्रका विभिन्न निकायका प्राविधिकहरू बसेर गहन छलफल थालेको हो ।
कृषि निकायहरूले किसानसँग बसेर पहिचान गरेका समस्याहरूको प्रस्तुतीकरण गर्ने र प्रस्तुत गरिएका समस्याहरू टिपोट गरी प्राथमिकीकरण गर्दै आगामी वर्षका लागि अनुसन्धानका कार्यक्रम तय गर्ने उद्देश्यले कार्य समूह बैठक गरिएको कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका प्राविधिक अधिकृत एवम् सूचना अधिकारी रविन गिरीले बताउनुभयो । गाउँस्तरीय तर्जुमा गोष्ठी सम्पन्न गरिसकेको निर्देशनालयले प्रदेश स्तरीय बैठक गरेर प्रदेशमा अवस्थित विभिन्न प्रसार निकायमार्फत निर्देशनालयले विकास गरेका प्रविधि किसान समक्ष पुर्याउने उद्देश्य लिएको छ । निर्देशनालयले कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म प्रविधिको बारेमा प्याकेजमा सल्लाह दिने काम गर्दछ ।
कार्य समूह बैठकमा प्रदेश स्तरमा कृषि अनुसन्धान तथा अन्य सरोकारवाला निकायसँग समन्वयको अवस्था, मन्त्रालयको भूमिका तथा आगामी कार्यदिशाका विषयमा सचिव यामनारायण देवकोटा, प्रदेश स्तरका पशुपक्षी एवम् मत्स्यसँग सम्बन्धित निकायहरूको तर्फबाट अनुसन्धानमूलक समस्याहरूको प्रस्तुति र पशुपक्षी एवम् मत्स्य अनुसन्धान, प्रसार/विकास र शिक्षा बिचको समन्वयमा प्रदेश सरकारको भूमिकाका विषयमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक प्रवेशसिंह कुँवर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका विषयमा परियोजनाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले र हालसम्म विकसित कृषि र पशुसँग सम्बन्धित प्रविधि तथा कृषि अनुसन्धान, प्रसार, विकास र शिक्षा बिचको समन्वयमा नार्कको भूमिकाका विषयमा प्राविधिक अधिकृत गिरीले प्रस्तुतीकरण गर्नुभएको छ ।
कार्य समूह बैठकमा विभिन्न कृषि निकाय, कृषक, एग्रोभेट, उद्यमी लगायतका तर्फबाट अनुसन्धानमूलक समस्याहरूबारे जानकारी गराएको कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक समिद अहमदले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्