नेपालगञ्जमा निषेधाज्ञा उल्लङ्घन गर्ने चार जना पक्राउ
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने चार जना पक्राउ परेका छन् ।
आज दिउँसो नेपालगञ्जको विपी चोकबाट निषेधाज्ञाको उल्लङ्घन गरेको आरोपमा चार जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । निषेधाज्ञाको उल्लङ्घन गर्ने ३४ वर्षीय रियाज खान, २८ वर्षीय सहबाज, २३ वर्षीया ललिता पोरवाल र २६ वर्षीया शिला पोरवाललाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लङ्घन गरेमा कारबाही हुने चेतावनी हुँदाहुँदै निषेधाज्ञालाई बेवास्ता गर्दै उल्लङ्घन गरेकोमा उनीहरुलाई पक्राउ गरिएको डाँगीले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई प्रचलित कानुन बमोजिम कारबाही हुने बाँके प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । जिल्ला प्रशासन बाँकेले अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु खुकुलो बनाउँदै दिउँसो निषेधाज्ञा र राती कर्फ्यु कायम गरेको छ। हिजोदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो । राती ८ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्यु कायम नै छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान एक सूचना जारी गर्दै पाँच जना भन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी रहेको उल्लेख गरेको छ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म पूर्ववत् रुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यु आदेश भने जारी बाँके प्रशासनले जनाएको छ।
दिउँसोको समयमा कर्फ्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुने स्थिति देखिएको भन्दै कर्फ्यु आदेश जारी गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्