समृद्धि हासिल गर्न कार्यशैली परिवर्तन गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले गृह प्रशासनलाई सुधार र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न कार्यदल गठन गर्ने तयारीमा मन्त्रालय जुटेको उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठले समृद्धि हासिल गर्न हिजोकै कार्य पद्धति, कार्यशैली, संस्कृति र गतिमा काम गरेर नहुनेमा जोड दिँदै उहाँले कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि सरकारले सुशासनलाई पूर्व सर्त बनाएको बताउनुभयो । “समृद्धि पर्याप्त भएन, अब क्रमभङ्ग गर्नुपर्छ, गुणात्मक फड्को मार्नुपर्छ”, उहाँले भन्नुभयो ।
मुलुकको अर्थतन्त्रलाई सही ‘ट्र्याक’मा ल्याएर मात्रै समृद्धिमा फड्को मार्न सकिनेमा सरकार दृढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको सुधारसँगै समृद्धिको गति बढ्ने बताउनुभयो । सुशासन कायम गर्न सरकार दृढताका साथ अगाडि बढेको बताउँदै उहाँले भ्रष्टाचार, ठगी, दण्डहीनता, अपराधीकरण विरुद्धको अभियानले विश्राम नपाउने दाबी गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वार्षिक रूपमा तोकिएका कामका अतिरिक्त मन्त्रालयले सम्पादन गरेको अन्य कामबाट जनतामा आशा जागेको बताउनुभयो । स्रोतको अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या आएका विषयलाई गम्भीर रूपमा लिँदै उहाँले राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार भएपछि बजेटको व्यवस्था गर्न सकिने बताउनुभयो ।
आयोगका सहसचिव प्रकाश दाहालले समग्रमा मन्त्रालयको प्रगति राम्रो रहेको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन प्रवर्द्धन गर्न मन्त्रालयले चालेका कदम स्वागतयोग्य भएको बताउनुभयो । संवेदनशील मानिएका कार्यालयको पूँजीगत खर्च कम हुन निराशालाग्दो भएको उहाँको भनाइ छ ।
मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै बजेटका अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या देखिएको बताउनुभयो ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, विभिन्न विभाग तथा कार्यालयका प्रमुख, प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्