तपाईँ सुन्दै हुनुहुन्छः

धर्मराज–सावित्री थापा लोकसंस्कृति–साहित्य पुरस्कार प्रदान

काठमाडौँ । धर्मराज–सावित्री लोकसंस्कृति–साहित्य पुरस्कार साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको छ ।

जनकविकेशरी धर्मराज थापा र उहाँकी जीवन सङ्गिनी सावित्री थापाको नाममा स्थापित धर्मराज–सावित्री लोकसंस्कृति–साहित्य पुरस्कार साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको हो ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले धर्मराज थापाको पुण्य स्मृति एवं जन्म शताब्दी महोत्सवको समारोहमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लोकसंस्कृति र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका साहित्यकार ग्वङ्गलाई रु ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, कार्यक्रममा धर्मराज–सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार वरिष्ठ लोकगायक बमबहादुर कार्की र लोकगायिका शिवा आलेलाई संयुक्त रूपमा प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

पुरस्कृत व्यक्तित्वहरूलाई वरिष्ठ संस्कृतिविद् चित्तरञ्जन नेपालीले पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रममा संस्कृतविद् नेपालीले धर्मराज थापा राम्रो कवि, लेखक र गायक भएको बताउनुभयो । “मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार प्राप्त गर्ने कवि धर्मराज थापा हुनुहुन्थ्यो”, नेपालीले भन्नुभयो ।

कार्यक्रममा पूर्वराजदूत प्राडा जयराज आचार्यले आफूले सानै छँदा धर्मराज थापाको गीत रेडियो नेपालमा सुन्ने गरेको भन्दै थापाका गीत, सङ्गीत र कवितालाई प्रतिष्ठानले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

यस्तै, प्राडा अभि सुवेदीले धर्मराज थापाको जन्म शताब्दीमा धर्मराजले गाएका लोक गायन, स्वर, कविता लगायतका विविध पक्षको बारेमा छलफल गर्नुपर्ने बताउनुभयो ।

प्राडा चूडामणि बन्धुले धर्मराज थापाका गीत, सङ्गीत र कवितालाई विश्वभर रहेका नेपालीमाझ लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुरस्कृत व्यक्ति ग्वङ्गका बारेमा साहित्यकार जीतेन्द्र रसिक र लोकगायक द्वय कार्की र आलेका बारेमा लोकगायक प्रेमराजा महतले परिचय प्रस्तुत गर्नुभएको थियो ।

प्रतिष्ठानले धर्मराज थापाको जन्म शताब्दीको अवसरमा थापा जन्मेको कास्कीको बाटुले चौरमा थापाको प्रतिमा स्थापना गर्ने, गीतिकाव्य प्रकाशन गर्ने, परिचय पुस्तिका, स्मृति ग्रन्थ प्रकाशन गर्ने, केन्द्रसहित सातै प्रदेशमा काव्य गोष्ठी सञ्चालन गर्ने, सिक्का प्रकाशन गर्ने लगायतका लक्ष्य राखेको प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी दिनुभयो ।

नेपाली लोक जीवन, लोकसंस्कृति र लोकगाथाका सुप्रसिद्ध गायक जनकविकेशरी धर्मराज थापा र उहाँकी पत्नी सावित्रीको नाममा विस २०५२ सालमा स्थापना भएको उक्त प्रतिष्ठानले लोक साहित्य, लोकगीत, गायन, लोकनृत्य, वाद्यवादन आदिको संरक्षण गर्ने उद्देश्यसहित काम गर्दै आएको छ ।

सोही कार्यक्रममा जनकविकेशरी थापाले गाउनुभएका गीतलाई संस्कृतमा अनुवाद गरेर वाचन पनि गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button