तपाईँ सुन्दै हुनुहुन्छः

सरसफाइ सबैका लागि आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्नुहुँदै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताउनुभएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी दश दिने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरसफाइ मानवीय जीवनको महत्वपूर्ण कार्य भएकाले सबैले यो काम सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ गर्ने मानिस साना हुन्छन् या सानाले मात्रै सरसफाइको काम गर्नुपर्छ भन्ने हुँदैन, यो गलत सोच हो ।” नेपाली समाजमा सरसफाइकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेको र यसलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले सरसफाइको काम सबैले सिक्नुपर्ने भन्दै मन्त्रालयमा आयोजित सरसफाइसम्बन्धी उक्त तालिममा आफू पनि सहभागी हुने इच्छा रहेको भए पनि कार्य व्यस्तताका कारण सहभागी हुन नसकेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले हरेक व्यक्तिले थोरै भए पनि शारीरिक श्रम गर्नुपर्ने सुझाव दिनुभयो । कुनै पनि काम सानो या ठूलो नहुने भन्नुहुँदै मन्त्री श्रेष्ठले सरसफाइकर्मीले आफैँले आफू सानो मान्छे हुँ भन्ने सोच पनि राख्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानलाई नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटी सरसफाइसम्बन्धी नीति निर्माण गरिएको हो । सोही नीतिबमोजिम अहिले सरकारी निकायका सफाइकर्मीलाई तालिम प्रदान गर्न थालिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री दाहालका जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले आफूले दश दिनसम्म तालिममा सिकेका कुराहरूलाई अक्षरशः व्यवहारमा लागू गरी आफू खटिएका कार्यालय तथा बस्ने स्थानहरूलाई सधैँ सफा राख्न उक्त तालिम लिएका सरसफाइकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ‘दाहाल’ ले अघि सार्नुभएको ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानअन्तर्गत सरकारका विभिन्न निकायले यससम्बन्धी निर्देशिका निर्माण गरिरहेका र पछिल्लो समय विभिन्न मन्त्रालयले सुरु गरेको सरसफाइसम्बन्धी तालिमले ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियान सफल हुने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पठाउनुभएको सरसफाइसम्बन्धी शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

तालिममा गृह मन्त्रालयका ५६ जना सफाइकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button