सरकारले उद्धार, उपचार तथा राहतका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने
काठमाडौँ । सरकारले रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि तत्काल उद्धार, उपचार तथा राहतका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।
आजको बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकमा बाढीबाट घाइते भएकाहरूलाई तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा अवरुद्ध भएका सडकहरू पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, अवरुद्ध दूरसञ्चार तथा विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन र क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालन तथा समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री पोखरेलले बताउनुभयो ।
मन्त्री पोखरेलले छिमेकी राष्ट्रहरू चीन र भारत दुवैले उद्धार तथा राहतका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै बाढीका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको जानकारी दिनुभयो ।
यस्तै बैठकमा विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।







प्रतिक्रिया राख्नुहोस्