तपाईँ सुन्दै हुनुहुन्छः

आज देशका विभिन्न भागमा भारी वर्षा र हावाहुरीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ I जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न प्रदेशहरूमा भारी वर्षाका साथै हावाहुरीको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन मौसम चेतावनी (Warning Map) जारी गरेको छ।

महाशाखाले असोज ०७ देखि ०९ गते (बुधबारदेखि शुक्रबार) सम्मको तीन दिने मौसम पूर्वानुमान Bulletin सार्वजनिक गर्दै यात्रा गर्दा तथा नदी तटीय क्षेत्रमा सावधानी अपनाउन विशेष अनुरोध गरेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असोज ०७ गते बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसका साथै मधेस प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भाग, बागमती प्रदेशका पहाडी र तराई भू-भागका साथै गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसममा आउने यो परिवर्तनका कारण पहाडी तथा भिरालो भू-भागहरूमा पहिरो र गेग्रान बहावको जोखिम हुनसक्ने तथा नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button