तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा सम्भावित वर्षाको प्रक्षेपणपछि पूर्वतयारी तीव्र

मकवानपुर I मकवानपुरमा सम्भावित वर्षाको प्रक्षेपणपछि उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ । 

सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै जिल्लाका विभिन्न जोखिमयुक्त क्षेत्रमा तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । 

प्रजिअ अधिकारीले यही असोज ८ देखि १२ गतेसम्म पानी पर्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो ।  उहाँका अनुसार जिल्लामा विशेष गरि राष्ट्रिय राजमार्ग क्षेत्र र इन्द्रसरोवर जलविद्युत् आयोजना र बाँध क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ । विशेषगरी पृथ्वी राजमार्ग, कान्ति राजपथ, मदन भण्डारी लोकमार्ग, त्रिभुवन राजपथ र हेटौँडा–काठमाडौँ कुलेखानी मार्ग लगायतका सडकहरू वर्षाको समयमा बढी संवेदनशील रहेकोले सो क्षेत्रमा विशेष निगरानी बढाइएको उहाँले बताउनुभयो । 

प्रजिअ अधिकारीले आज इन्द्रसरोवर जलविद्युत् आयोजना र बाँध क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने साथै बाँधको अवस्था, पानीको बहाव र सतर्कता अपनाउनुपर्ने विषयमा आयोजनाका अधिकारीहरूसँग जानकारी लिने बताउनुभयो । 

यसअघि मङ्गलवार कुलेखानी जलविद्युत आयोजनाका प्रमुखसँग लिइएको जानकारी अनुसार इन्द्रसरोवर बाँधमा हाल १५२२ मिटर पानी रहेको र १५२७ मिटर पुगेपछि पहिलो अलार्म बज्ने व्यवस्था रहेको जानकारी गराइएको उहाँले बताउनुभयो । यस्तै, १५३० मिटर पुगेपछि पानीको निकास गर्नु पर्ने जानकारी आयोजना प्रमुखले दिनुभएको प्रजिअ अधिकारीले बताउनुभयो ।   

प्रजिअ अधिकारीले २०८१ असोज १२ गतेको जस्तो घटना नहोस् भनेर यसपटक पानीको सतह र निकासलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न र कुनै पनि मानवीय तथा भौतिक क्षति हुन नदिन आयोजना पक्षलाई सचेत गराइएको बताउनुभयो । यस्तै सम्भावित विपद्लाई मध्यनजर गर्दै स्थानीय तहहरूलाई पनि सतर्क रहन आग्रह गरिनुका साथै आपत्कालीन अवस्थामा उद्धार र राहतका लागि सबै स्थानीय तह, विपद् फोकल पर्सनहरू तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button