जनसहभागितामा आधारित जलाधार व्यवस्थापनका लागि धनकुटा नगरपालिकालाई अन्तर्राष्ट्रिय सम्मान

धनकुटा । जनसहभागितामा आधारित जलाधार व्यवस्थापन तथा वातावरण संरक्षणमा उल्लेखनीय अभ्यास गरेको भन्दै धनकुटा नगरपालिकालाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।
धनकुटा नगरपालिकाले निबुवा–तांखुवा जलाधार क्षेत्रमा सञ्चालन गरेको सहभागितामूलक जलाधार सुशासन अभ्यासका लागि अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था (ओआइडिपी) ले प्रदान गर्ने २० औँ ओआइडिपी अवार्ड अन्तर्गत नागरिक सहभागितामा सर्वोत्कृष्ट अभ्यास विधामा विशेष सम्मान प्रदान गरेको हो ।
पोल्याण्डको क्राकोभस्थित आइसिई क्राकोभ कङ्ग्रेस सेन्टरमा आयोजित अवार्ड समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरपालिकाको तर्फबाट सम्मान ग्रहण गर्नुभएको थियो । निबुवा–तांखुवा जलाधार व्यवस्थापनको अभ्यासमा स्थानीय समुदायको ज्ञान, अनुभव र सहभागितालाई वैज्ञानिक तथा प्राविधिक ज्ञानसँग जोड्दै जलस्रोत संरक्षण, भूमि व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा स्थानीय संस्थागत सहकार्यलाई अघि बढाइएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत तथा सूचना अधिकारी विकास अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रम आर्थिक वर्ष २०७७/७८ देखि धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा इसिमोडको सहयोग तथा विभिन्न साझेदार निकायको समन्वयमा सञ्चालन हुँदै आएको छ । ओआइडिपी अवार्डका लागि प्रस्ताव आह्वान गरिएअनुसार विश्वका ४१ देशका स्थानीय तथा क्षेत्रीय सरकारबाट १ सय ७६ वटा प्रस्ताव दर्ता भएका थिए । तीमध्ये ४० वटा अभ्यास अन्तिम चरणका लागि छनोट भएका थिए । छनोट भएका अभ्यासमध्ये धनकुटा नगरपालिकाको जलाधार व्यवस्थापन अभ्यासलाई वातावरण तथा पारिस्थितिकीय रूपान्तरणसम्बन्धी विधामा सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै नगर प्रमुख तामाङले यो सम्मान धनकुटा नगरपालिकाको मात्र नभई निबुवा–तांखुवा क्षेत्रका समुदाय, जलाधार संरक्षणमा सहभागी स्थानीय नागरिक तथा सरोकारवाला निकायहरूको योगदानको सम्मान भएको बताउनु भयो । उहाँले जलवायु परिवर्तन तथा वातावरणीय चुनौतीको समाधानका लागि स्थानीय समुदायलाई योजनाका लाभग्राहीका रुपमा मात्र नभई निर्णय प्रक्रिया, योजना निर्माण र कार्यान्वयनका सक्रिय साझेदार बनाउनुपर्नेमा जोड दिनुभयो ।
धनकुटा नगरपालिकाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यता स्थानीय सहभागिता, वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा आधारित स्थानीय शासन अभ्यासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको नगरपालिकाका आर्थिक विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । अवार्ड समारोहमा विभिन्न महादेशका नगर तथा स्थानीय सरकारका अभ्यासलाई विभिन्न विधामा सम्मान गरिएको थियो । ओआइडिपी स्थानीय तहमा लोकतन्त्र र नागरिक सहभागितालाई सुदृढ बनाउन कार्य गर्ने विश्वव्यापी सञ्जालका रुपमा सक्रिय रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्