क्रियापुत्री बसेको कोठामा गोमन सर्प, दुर्गाको उद्धारपछि ढुक्क
बर्दघाट । बर्दघाट नगरपालिका–१० स्थित एक घरमा क्रियापुत्री बसेकै कोठाबाट ठूलो गोमन सर्प उद्धार गरिएको छ।
स्थानीय शेषकान्त पौडेलका बुवाको निधन भएपछि उनका छोराहरू क्रियामा बसेका थिए। सोमबार राति क्रियापुत्री बसेकै कोठामा अचानक ठूलो गोमन सर्प प्रवेश गरेपछि परिवारमा त्रास फैलिएको थियो।
सर्प देखिएपछि परिवारले तत्काल बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्मी दुर्गा लामिछानेलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेका लामिछानेले सावधानीपूर्वक सर्पलाई कोठाबाट बाहिर निकालेर सुरक्षित स्थानमा लगेका हुन्।
गर्मी मौसममा नवलपरासी क्षेत्रमा विषालु सर्पको गतिविधि बढ्ने गरेको पाइन्छ। घर तथा मानव बस्तीमा सर्प प्रवेश गर्ने क्रम बढेसँगै सर्प उद्धारकर्मीको भूमिका पनि महत्वपूर्ण बन्दै गएको छ।
हेर्दा सामान्य जस्तो लागे पनि विषालु सर्पको उद्धार जोखिमपूर्ण र चुनौतीपूर्ण काम हो। उद्धारकर्मी लामिछानेले यसअघि पनि बर्दघाट तथा आसपासका क्षेत्रमा घर, गोठ, विद्यालयलगायत स्थानमा प्रवेश गरेका सयौँ सर्पको सुरक्षित उद्धार गर्दै आएका छन्।
सर्प उद्धारका क्रममा स्थानीयवासीलाई सचेत गराउनुका साथै विषालु सर्पबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणमा समेत लामिछानेले योगदान पुर्याउँदै आएका छन्। उनको उद्धार कार्यलाई बर्दघाट नगरपालिकाले समेत प्रोत्साहन गर्दै आएको छ।
सर्प देखिएमा आफैँ समात्ने वा मार्ने प्रयास नगरी सम्बन्धित सर्प उद्धारकर्मीलाई खबर गर्न लामिछानेले आग्रह गरेका छन्।







प्रतिक्रिया राख्नुहोस्