तपाईँ सुन्दै हुनुहुन्छः

१५ क्विन्टलभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार

इलाम I इलामको इलाम नगरपालिका–९ स्थित भन्ज्याङबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

मेची राजमार्ग अन्तर्गत प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक उत्तम भुजेलको कमान्डमा खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ना.४ ख ८९९६ नम्बरको फुलबडी ट्रकलाई नियन्त्रणमा लिएको हो।

राजदुवाली सडकको खराब अवस्थाका कारण ठूला सवारी साधनलाई केचना–कञ्चनजङ्घा सडकखण्डतर्फ डाइभर्सन गराउने क्रममा उक्त ट्रक जबरजस्ती अगाडि बढेपछि प्रहरीले रोकेर सम्झाउने प्रयास गरेको थियो। सोही क्रममा चालक ट्रकलाई स्टार्ट अवस्थामै छाडेर फरार भएका थिए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवी दत्त मोतेको कमान्डमा थप प्रहरी टोली खटाइएको थियो। शङ्का लागेर जाँच गर्दा ट्रकको भित्री भागमा ‘फल्स बटम’ (विशेष ठाउँ) बनाई त्रिपालले छोपेर ४१ वटा बोरामा लुकाइराखेको अवस्थामा १५०४ केजी ६१० ग्राम (१५ क्विन्टलभन्दा बढी) गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रहरीले गाँजा र ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा राखेको छ। फरार रहेका ट्रक चालकको तीव्र खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button