“बजेट विनियोजन तथा योजना सञ्चालन पर्यावरण मैत्री हुन जरुरी”
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामाशिष यादवले बजेटको विनियोजन सामाजिक, आर्थिक तथा पर्यावरणलाई केन्द्रमा राखेर गर्नुपर्ने धारणा राख्नुभएको छ ।

सभामुख यादवले एक्सन एडको आर्थिक सहयोगमा रतौली युवा क्लबको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको “मधेश प्रदेश वित्तीय संवाद २०८३/८४” कार्यक्रमको उद्घाटन गर्दै बजेटको व्यवस्थापन तथा यसको कार्यान्वयन पर्यावरणलाई ध्यानमा राखेर नगरिए पर्यावरणमा नकारात्मक असर पर्ने र सामाजिक तथा आर्थिक क्षेत्रमा ठूलो हानि हुने खतरा रहेको भोटेकोशी बाढीले पुष्टि गरेको बताउनुभयो ।
सभामुख यादवले प्रदेश तथा स्थानीय तहमा सङ्घको कूल बजेटको ३० प्रतिशत बजेटले मात्र आउने गरेको र सोही बजेटबाट नै जनताको आधारभूत आवश्यकताको रुपमा रहेको साना तथा मझौला विकास निर्माणका धेरै कामकाज भएको दाबी गर्नुभयो ।
सङ्घबाट प्रदेशमा आएको कूल बजेटको १५ प्रतिशत मध्येका विकास बजेटको खर्च प्रदेशहरूमा न्यूनतममा ६६ देखि ८० प्रतिशतसम्म भएको महालेखाको प्रतिवेदनले औँल्याएको बताउँदै मुलुकमा विकासको लहर ल्याउनका लागि प्रदेशको बजेट अझै न्यायोचित रुपमा विनियोजन हुनु पर्ने धारणा सभामुख यादवले राख्नुभयो ।
मधेश प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. सोहन साहले प्रदेशको बजेटले पार्ने प्रभावलाई अझ परिणाममुखी बनाउनका लागि एक योजनाको विकास बजेट १ करोड भन्दा कम हुन नहुने धारणा राख्नुभयो ।
रतौलि युवा क्लबका अध्यक्ष मोहम्मद समीर खानको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य नवल यादव, एक्सन एडका प्रतिनिधि देवेन्द्र प्रसाद सिंह तथा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले बजेटको विनियोजन सामाजिक न्यायलाई केन्द्रमा राखेर हुनुपर्ने चर्चा गर्दै बजेटको व्यवस्थापन वित्तीय अनुशासनमा आधारित हुनुपर्ने धारणा राख्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्