तपाईँ सुन्दै हुनुहुन्छः

दैलेख अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

दैलेख। दैलेख अस्पतालमा भाइरल ज्वरो तथा रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ। केही दिनयता अस्पतालमा ज्वरो, रुघाखोकी, टाउको र घाँटी दुख्ने समस्या लिएर आउने बिरामीको संख्यामा वृद्धि भएको हो।

हाल अस्पतालमा भाइरल ज्वरोका दैनिक १०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको दैलेख अस्पतालका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालको आकस्मिक कक्ष र ओपीडी (OPD) सेवामा आउने अधिकांश बिरामीमा उच्च ज्वरो र रुघाखोकीकै मुख्य समस्या देखिएको छ।

हरेक वर्ष साउन र भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढ्ने गरेको डा. विश्वकर्माले बताउनुभयो। मौसममा आएको परिवर्तन, लगातारको झरी र बर्खायाममा दूषित पानीको प्रयोगका कारण बिरामीको संख्या बढेको उहाँको भनाइ छ। मौसमको उतारचढावले भाइरस बढी सक्रिय हुँदा यो समस्या जिल्लाका ग्रामीण क्षेत्रमा समेत फैलिएको छ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरू भाइरल ज्वरोबाट बढी प्रभावित भएका छन्। अस्पतालमा बिरामीको चाप बढेसँगै उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक औषधि र स्वास्थ्यकर्मीको चुस्त व्यवस्थापन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button