नेपाल भारतको सम्बन्ध समानता, पारस्परिक हितमा आधारित हुनु पर्दछ: मुख्यमन्त्री यादव
जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल र भारतबीचको सम्बन्ध समानता, पारस्परिक हितमा आधारित भएर अझ बलियो बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

मुख्यमन्त्री यादवले भारतको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा समाज विकास तथा अनुसन्धान केन्द्रको आयोजनामा “नेपालको वर्तमान अवस्थामा नेपाल–भारत सम्बन्ध” विषयक एक दिने विचार गोष्ठीको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले नेपाल–भारत सम्बन्ध सरकार बीचको कूटनीतिक सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै यो जनस्तरसम्म फैलिएको बहुआयामिक सम्बन्ध भएकाले राजनीतिक उतार चढावबाट प्रभावित हुन नहुने धारणा राख्नुभयो ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशले बाढी, सुख्खा सहितका जलवायु परिवर्तनका कारणले कृषि उत्पादनमा भइरहेको ह्रास र खानेपानीको बढ्दो अभाव जस्ता समस्याबाट पिडित हुनु परेको बताउनुभयो ।
उहाँले प्राकृतिक विपद्को समस्या समाधान गर्न प्रदेश सरकारको आन्तरिक स्रोत पर्याप्त नभएको उल्लेख गर्दै उहाँले संघीय सरकारले जनसङ्ख्याको अनुपातमा अनुदान उपलब्ध नगराएको भन्दै गुनासो गर्नुभयो ।
उहाँले सीमावर्ती क्षेत्रका साँझा समस्या समाधान तथा विकासका लागि नेपाल र भारत बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
मुख्यमन्त्री यादवले सीमावर्ती क्षेत्रमा देखिने समस्या दुई देशका नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले त्यसको समाधानका लागि सरकारसँगै जनस्तरको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल–भारत सम्बन्धलाई अझ व्यापक र परिणाममुखी बनाउन सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने धारणा राख्नुभयो ।
गोष्ठीमा नेपाल–भारतबीचको खुला सीमा, व्यापार तथा आर्थिक सम्बन्ध, सीमावर्ती क्षेत्रका नागरिकका समस्या, ऊर्जा सहकार्य, धार्मिक तथा सांस्कृतिक सम्बन्ध र विकास साझेदारीलगायतका विषयमा सहभागीहरूले विभिन्न विचारहरू राख्नुभएको थियो ।
वक्ताहरूले नेपाल र भारतबीचको सम्बन्धलाई समयानुकूल बनाउँदै आर्थिक विकास, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन तथा सीमावर्ती जनताको हितमा केन्द्रित गर्न सके दुई देशबीचको सहकार्य अझ परिणाममुखी बन्न सक्ने विचार पनि राख्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष रामसिंह यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र झा, डा. सुरेन्द्र यादव, मधेश प्रदेश सभाका महिला तथा बालबालिका समितिका सभापति रुपा यादव सहितका वक्ताहरूले नेपाल भारतको सम्बन्धका विविध पक्षमा बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्