पहिरोले खानेपानीको पाइपमा क्षति हुँदा ४२ घरपरिवार प्रभावित
सल्यान । सल्यान कुमाख गाउँपालिका–७ डुंगुलेमा लिफ्ट खानेपानी योजनाको पाइपमा पहिरोले क्षति पुर्याएको छ ।
दुई दिनको निरन्तरको वर्षापछि आएको पहिरोले मेन पाइप र इन्टेकमा क्षति हुँदा खानेपानी वितरण प्रभावित भएको छ ।
खानेपानीको मुख्य पाइपलाइनको जीआई पाइपमा क्षति पुगेपछि डुंगुले, चौरपानी बजारका ४२ घर परिवार खानेपानीबाट प्रत्यक्ष प्रभावित भएको डुंगुले ग्रामीण सौर्य खानेपानी योजनाका अध्यक्ष लाल बहादुर बोहराले जानकारी दिनुभयो ।
पहिरोले पाइपमा क्षति पुर्याएपछि तीन दिनदेखि खानेपानी आपूर्ति बन्द भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “पहिरोबाट झरेको ढुंडा लागेर मुख्य पाइप नै फुटेको छ । साथै इन्टेकमा समेत क्षति भएको छ । जसले गर्दा ४२ घरधुरीभन्दा घरधुरी प्रभावित भएका छन् ।” धारामा पानी नआएपछि स्थानीयवासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले चाँडो पानी सञ्चालन गर्न वडाबाट सिफारिस लिएर गाउँपालिकामा निवेदन दिएको बोहराको भनाई छ ।
लिफ्ट खानेपानी अवरुद्ध हुँदा स्थानीयले एक किलोमिटर टाढाको मुहानबाट खानेपानी बोक्न बाध्य भएका छन् । घर घरमा आएको पानी बन्द भएपछि तल्लो चौरपानी पुगेर पानी ल्याउनु पर्ने बाध्यता रहेको कृति बहादुर बुढाथोकीले बताउनुभयो । “घरमै धारा थियो र निकै सजिलो भएको थियो तर पहिरोबाट झरेको ढुङ्गाले लागेर मुख्य पाइप नै फुटेछ जसले गर्दा अहिले अप्ठ्यारो भइरहेको छ । उहाँले भन्नुभयो ।”








प्रतिक्रिया राख्नुहोस्