तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता दुरुपयोगको डरलाग्दो जालो: सयौँ पीडित, करोडौँको कारोबार, बाबु–छोरा पक्राउ

उदयपुर । विश्वास गरेर दिएको नागरिकताको फोटोकपी नै अहिले बेलका नगरपालिकाका सयौँ स्थानीयका लागि ठूलो संकट बनेको छ। गाउँको विकास, रोजगारी, अनुदानदेखि विभिन्न कामको प्रलोभन देखाएर सङ्कलन गरिएका नागरिकताको प्रतिलिपि दुरुपयोग गरी उनीहरूकै नाममा ई–सेवा तथा बैङ्क खाता खोली करोडौँ रुपैयाँको कारोबार भएको घटना सार्वजनिक भएको हो।

बेलका नगरपालिका–३ र ४ का स्थानीयको नागरिकता दुरुपयोग गरी ठूलो रकमको कारोबार गरेको आरोपमा प्रहरीले बेलका–४ का रितेश खत्री र उनका बुवा प्रकाश खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। नेपाल प्रहरीको साइबर ब्युरो तथा वैदेशिक रोजगार विभागबाट अवैध कारोबारसम्बन्धी विषयमा स्थानीय केही व्यक्तिलाई  बोलाइएपछि मात्रै कतिपय स्थानीयले आफ्नो नागरिकता दुरुपयोग भएको थाहा पाएका थिए।

स्थानीयका अनुसार रितेश खत्रीले विभिन्न प्रलोभन देखाउँदै गाउँका सोझा सीधा तथा निमुखा नागरिकबाट नागरिकताको फोटोकपी सङ्कलन गर्ने र उनीहरूको तस्बिरसमेत खिच्ने गरेका थिए। स्थानीयको भनाइअनुसार मात्रै ४ सयभन्दा बढी नागरिकको नागरिकताको प्रतिलिपि सङ्कलन गरिएको छ। घटनापछि अहिलेसम्म करिब ४ सय ४० जनाले आफ्नो नागरिकता दुरुपयोग हुन सक्ने भन्दै प्रहरीमा निवेदन दिएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने २ सय ३८ जनाको नाममा ई–सेवा तथा बैङ्क खाता खोलेको तथ्य फेला परेको छ। तीमध्ये १ सय ४७ जनाको नाममा ई–सेवा खाता खोली कारोबार गरिएको र केहीको नाममा बैङ्क खाता खोली रकम कारोबार भएको पाइएको प्रहरीले जनाएको छ। २७ जनाको नाममा खाता खुले पनि हालसम्म कारोबार नभएको देखिएको छ। अनुसन्धानको दायरा बढाउँदै लगिएकाले पीडितको संख्या र कारोबारको रकम अझ बढ्न सक्ने प्रहरीको भनाइ छ।

स्थानीयहरूले आफूहरूले आफ्नो नाममा आर्थिक कारोबार गर्न नागरिकता नदिएको बताएका छन्। कतिपयलाई राजनीतिक दलको सदस्यता नवीकरणका लागि आवश्यक परेको, कतिपयलाई सडक कालोपत्रे हुने, पुल बन्ने र रोजगारी मिल्ने तथा कतिपयलाई कृषि फर्मका लागि सरकारी अनुदान ल्याउने भन्दै नागरिकताको प्रतिलिपि लिइएको पीडितहरूको भनाइ छ।

तर नागरिकताको प्रतिलिपि दिएको लामो समयपछि आफ्नै नाममा ई–सेवा खाता खोलेर लाखौँ रुपैयाँको कारोबार भएको स्टेटमेन्ट देखिएपछि स्थानीयहरू छाँगाबाट खसेझैँ भएका छन्। बेलका–४ की एक स्थानीयको नाममा मात्रै २३ लाख रुपैयाँ, बेलका–३ की अर्की स्थानीयको नाममा ८४ लाख रुपैयाँ, बेलका–४ कै अर्की स्थानीयको नाममा ४६ लाख ९६ हजार रुपैयाँ र बेलका–३ की अर्की महिलाको नाममा ५० लाख ७६ हजार रुपैयाँसम्मको कारोबार भएको विवरण फेला परेको पीडितहरूले बताएका छन्।

आफूहरूले गाउँको विकास हुने आशामा विश्वास गरेर नागरिकताको प्रतिलिपि दिएको तर त्यसैको दुरुपयोग गरी आफ्नो नाममा लाखौँ रुपैयाँको कारोबार भएको थाहा पाएपछि स्थानीयहरू अहिले ठूलो तनावमा छन्। आफ्नो नाममा भएको कारोबारको जिम्मेवारी आफूहरूले लिन नसक्ने भन्दै उनीहरूले राज्यसँग तत्काल आफूहरूलाई यो कानुनी तथा आर्थिक झमेलाबाट मुक्त गराउन माग गरेका छन्।

घटनाले बेलका–३ र ४ का बस्तीमा त्रासको वातावरण सिर्जना गरेको छ। सयौँ स्थानीयको व्यक्तिगत पहिचान र नागरिकता दुरुपयोग भएको हुन सक्ने भन्दै घटनालाई गम्भीर रूपमा लिएर नागरिकताको दुरुपयोग गर्ने व्यक्ति मात्र नभई यसबाट लाभ लिने सम्भावित अन्य व्यक्ति तथा समूहको समेत खोजी गर्न स्थानीयले माग गरेका छन्।

बेलका नगरपालिका–४ का पूर्व वडाध्यक्ष दीपक दंगालले सोझा सीधा नागरिकलाई झुक्क्याएर नागरिकता सङ्कलन गरी अवैध कारोबार गरिएको विषय गम्भीर भएकाले पीडित सबैलाई तत्काल यो झमेलाबाट मुक्त गराउनुपर्ने बताउनु भयो । समस्या समाधानमा ढिलाइ भए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत स्थानीयले दिएका छन्। बेलका ४ का वर्तमान वडाध्यक्ष तीर्थराज अधिकारीले पनि घटनामा संलग्न जोसुकै भए पनि तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

यता प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै नागरिकता दुरुपयोग गरी खोलिएका ई–सेवा तथा बैङ्क खाताको विवरण, भएको कारोबार, रकमको स्रोत र गन्तव्य तथा घटनामा संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। अहिलेसम्म खुलेका खाताको संख्या र कारोबारको विवरण थप परीक्षण भइरहेको तथा अनुसन्धानसँगै घटनाको वास्तविक जालो र संलग्न व्यक्तिहरू पहिचान हुने प्रहरीले जनाएको छ।

सयौँ नागरिकको नागरिकता प्रयोग गरेर करोडौँको कारोबार भएको यो घटनाले व्यक्तिगत परिचयपत्रको दुरुपयोग कति गम्भीर जोखिम बन्न सक्छ भन्ने प्रश्नसमेत खडा गरेको छ। अब प्रहरी अनुसन्धानले नागरिकताको फोटोकपी सङ्कलनदेखि करोडौँको कारोबारसम्मको यो जालो कहाँसम्म फैलिएको छ र यसको वास्तविक योजनाकार को हुन् भन्ने तथ्य उजागर गर्नुपर्ने चुनौती छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button