तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालबाट प्रसारण हुँदै आएको “कृषि कार्यक्रम” सम्बन्धि सम्झौता सम्पन्न

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल मार्फत दैनिक प्रसारण हुँदै आएको कृषि कार्यक्रम सञ्चालनसम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।

रेडियो नेपालमा आज आयोजित विशेष कार्यक्रममा कार्यक्रमसम्बन्धी समझदारी पत्रमा सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत तथा कार्यक्रमको प्रायोजक नेपाल कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सह–सचिव सवनम शिवाकोटीले हस्ताक्षर गर्नुभयो ।

रेडियो नेपालको केन्द्रीय प्रसारणबाट दैनिक साँझ ६ः४० देखि ६ः५५ सम्म प्रसारण हुँदै आएको रेडियो कृषि कार्यक्रम अन्तर्गत आइतबार साप्ताहिक कृषि गतिविधि, सोमबार पौरखी कृषक, मङ्गलवार नवीन कृषि प्रविधि कार्यक्रम प्रसारण गरिने भएको छ । यसका साथै बुधवार कृषि संवाद, बिहीबार किसान प्रश्न मञ्च, शुक्रबार जेटिए र बुढी आमै तथा शनिबार रेडियो कृषि पत्रिका तथा कृषि मेल–चौतारी कार्यक्रम प्रसारण गरिने भएको रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख ताराप्रसाद वस्तीले जानकारी दिनुभयो ।

त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले डिजिटल युगमा रेडियो कृषि कार्यक्रमलाई कसरी थप प्रभावकारी तथा जनउपयोगी बनाउन विषयमा आफूहरू गम्भीर रहेको जनाउँदै कृषि कार्यक्रमलाई थप परिष्कृत गरेर अगाडी बढ्न जरुरी रहेको बताउनुभयो ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सह–सचिव सवनम शिवाकोटीले रेडियो नेपालले लामो समयदेखि कृषि कार्यक्रम प्रसारण गर्दै आएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमको सन्देश कृषक, उद्यमी तथा सर्वसाधारण समक्ष अझै प्रभावकारी किसिमले पुर्‍याउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा लेखा शाखाका प्रमुख निर्देशक मनोज चौधरी सहितका अधिकारीहरू उपस्थित रहनुभएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button