इलाम अस्पतालमा डायलाइसिस सेवा: झापा धाउनुपर्ने बाध्यता हट्यो, रगत अभाव मुख्य चुनौती
इलाम। इलाम अस्पतालमै नियमित डायलाइसिस सेवा उपलब्ध भएपछि यहाँका बिरामीहरूलाई ठूलो राहत मिलेको छ।

माईजोगमाई गाउँपालिका–६ का दिनेश भण्डारी विगत चार वर्षदेखि यही अस्पतालमा नियमित डायलाइसिस गराइरहेका छन्।स्थानीय स्तरमै उपचार उपलब्ध भएपछि झापा धाउनुपर्ने झन्झटबाट मुक्त भएको र स्वास्थ्योपचार सहज बनेको भण्डारी बताउँछन्।
त्यस्तै, इलाम नगरपालिका–७ की नम्रता तामाङका बुवा–आमा दुवैले पनि विगत चार वर्षदेखि यहीँ सेवा लिइरहेका छन्। घरआँगनकै अस्पतालमा नियमित डायलाइसिस सुविधा पाउँदा उपचार प्रक्रिया धेरै सहज भएको नम्रताको अनुभव छ।
हाल इलाम अस्पतालमा ७ वटा डायलाइसिस बेडमार्फत सेवा सञ्चालन भइरहेको छ। अस्पतालबाट नियमित डायलाइसिस गराउने ३७ जना बिरामीमध्ये इलामका ३३ जना, पाँचथरका २ जना र झापाका २ जना रहेका छन्।
डायलाइसिस प्राविधिक आदित्य पण्डितका अनुसार इलामसहित छिमेकी जिल्ला पाँचथर र झापाबाट समेत बिरामीहरू डायलाइसिसका लागि आउने गरेका छन्। तर, बिरामीको संख्या वृद्धि भएसँगै आवश्यक रगतको व्यवस्थापनमा भने चुनौती थपिएको उनले जानकारी दिनुभयाे।

५० शय्याको अस्पतालमा नियमानुसार अनिवार्य ब्लड बैङ्क हुनुपर्ने भए पनि हालसम्म व्यवस्था हुन सकेको छैन। अस्पतालका कार्यालय प्रमुख तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अमिताभ ठाकुरले ब्लड बैङ्क नहुँदा बिरामीका लागि रगत जुटाउन समस्या भइरहेको बताउनुभयाे।
इलामको अनुकूल हावापानी र शान्त वातावरणका कारण पनि बाहिरी जिल्लाका बिरामीहरू उपचारका लागि यहाँ आकर्षित हुने गरेको डा. ठाकुरको भनाइ छ। स्वास्थ्य सेवालाई थप गुणस्तरीय र व्यवस्थित बनाउँदै पर्यटनसँग जोडेर इलामलाई “स्वास्थ्य हब”का रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले बताए। यसका लागि स्थानीय जनप्रतिनिधि, सर्वसाधारण तथा सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेकोमा उनले जोड दिनुभयाे।








प्रतिक्रिया राख्नुहोस्