कैलालीमा ७ जनामा जापनिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि
टीकापुर कैलाली । कैलालीमा ७ जनामा जापनिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकामा ३, घोडाघोडी र लम्कीचुहा नगरपालिकामा २÷२ गरी ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
अहिलेसम्म ७ जनामा संक्रमण पुष्टि भएकाले कैलाली जिल्ला पनि जापनिज इन्सेफ्लाइटिसको जोखिममा रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले जानकारी दिनुभयो ।
जिल्लामा ७ जनामा संक्रमण पुष्टि भएपछि कैलालीमा सतर्कता अपनाउन थालिएको छ । जिल्लाका सबै पालिकालाई सर्कुलर गर्दै जिल्ला स्वास्थ्य कार्यालय कैलालीले लामखुट्टे हुन सक्ने स्थानको पहिचान गर्दै सरसफाईमा ध्यान दिन सुझाव समेत दिएको छ ।
सोही सकुर्लर अनुसार टीकापुर नगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बच्नका लागि समुदायमा सरसफाई र स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना जगाउने गरेको छ ।
पालिकाले महिला स्वास्थ्य स्वयंसेविकामार्फत शिक्षा दिने र टोल विकास संस्थासँग सहकार्य गरेर सरसफाई गर्ने काम भइरहेको टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउनुभयो ।
यस्तै जानकी गाउँपालिकाले पनि लामखुट्टेको टोकाइबाट बच्न नागरिकलाई स्वास्थ्य र सरसफाइबारे सचेत गराउने काम गरिएको स्वास्थ्य शाखा प्रमुख तिजबहादुर चौधरीले बताउनुभयो ।
संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको समयमै पहिचान र उपचार नगरेमा मस्तिष्क सुन्निने, पक्षघात हुने, कोमामा जाने र मृत्यु हुनेसम्मको अवस्था आउने हुन्छ । संक्रमित सुँगुर, बङ्गुर, हाँस, बकुल्ला घोडा वा जङ्गली चरालाई टोक्दा भाइरस बोकेको हुन्छ र त्यसपश्चात् मानिसलाई टोक्दा संक्रमण फैलिन्छ ।
मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन । क्युलेक्स जातको खैरो र लामो खुट्टा भएको लामखुट्टे साँझपख र झिसमिसे बिहान बढी सक्रिय हुने भएकाले उक्त समयमा सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाई छ ।
लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउनुपर्ने, धानखेत, पानी जमेको क्षेत्र, तथा सुँगुर वा हाँसको फर्म नजिकका बस्तीहरू बढी जोखिमयुक्त हुने भएकाले सरसफाईमा विशेष ध्यान दिने, सतर्कता अपनाउनुका साथै व्यवस्थित गर्नुपर्ने हुन्छ ।







प्रतिक्रिया राख्नुहोस्