तपाईँ सुन्दै हुनुहुन्छः

डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी घुस रकमसहित पक्राउ

उदयपुर ।  डिभिजन वन कार्यालय उदयपुर, गाईघाटमा कार्यरत वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेल घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले बिहीबार पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित कार्यालयबाटै पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा दिउँसो करिब साढे ४ बजे डिभिजन वन कार्यालय पुगेको अख्तियारको टोलीले कार्यालयमै निगरानी बढाएको थियो। त्यसक्रममा पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै लिएको भनिएको १६ हजार २५० रुपैयाँ रकमसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले अख्तियारको टोलीले वन अधिकृत पौडेललाई नगदसहित पक्राउ गरेको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो । 

पक्राउ परेका पौडेलमाथि सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज बनाइदिने भन्दै रकम मागेको आरोप छ । यद्यपि, रकम दिइएको भनिएको सामुदायिक वन उपभोक्ता समूहको नाम र ठेगाना भने खुलाइएको छैन । अख्तियारको टोलीले घटनासँग सम्बन्धित थप प्रमाण तथा विवरण सङ्कलन गरी अनुसन्धान अघि बढाउने बताइएको छ ।

यसैबीच, डिभिजन वन कार्यालय गाईघाटका केही कर्मचारीले सेवाग्राही तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग काम सहज बनाइदिने बहानामा रकम माग्ने गरेको गुनासो पछिल्लो समय चर्चामा रहेको थियो । वनसम्बन्धी काममा अनावश्यक झन्झट सिर्जना गरी रकम असुल्ने गरेको आरोप समेत सेवाग्राहीबाट आउने गरेको थियो ।

घुस रकमसहित वन अधिकृत नै पक्राउ परेपछि डिभिजन वन कार्यालय गाईघाटको सेवा प्रवाह, कर्मचारीको कार्यशैली तथा सेवाग्राहीसँगको व्यवहारमाथि समेत प्रश्न उठेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button