राष्ट्रियसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुले सार्वजनिक तथा गुठीका जग्गा भूमाफियाहरुले कब्जा गरेको सम्बन्धमा विभिन्न प्रतिवेदन सार्वजनिक भएपनि कारबाही हुन नसकेको विषयमा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिका जग्गाहरू तत्काल फिर्ता ल्याई संरक्षण गर्न माग गर्नभयो ।
सांसदहरूले होल्डिङ सेन्टरमा ११ जना सुकुम्वासीको विभिन्न कारणले मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था तथा होल्डिङ सेन्टरका सुकुम्वासीहरूको स्थायी बसोबासको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै सीमा क्षेत्रको सुरक्षा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा गम्भीरतापूर्वक जुट्न र वैदेशिक रोजगारीमा जाने महिला तथा श्रमिकको सुरक्षा सुनिश्चिततामा सरकारले आवश्यक नीतिगत सुधार गर्नुपर्ने सांसदहरुले औँल्याउनुभयो ।
बैठकमा नेपाली जनताको खुसी र समृद्धि सुनिश्चित गर्दै समग्र राष्ट्रिय खुसीको स्तर उच्च राख्नुपर्ने बताउँदै सांसदहरुले महँगी नियन्त्रण, गरिबी न्यूनीकरण तथा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धन गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
सांसदहरुले विभिन्न जिल्लाका बाढी–पहिरो पीडितको तत्काल उद्धार तथा समयमै राहत उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्