पहिरोका कारण पिना–बालै–गमगढी सडक दुई सातादेखि अवरुद्ध

मुगु । अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिना–बालै–गमगढी सडकखण्ड दुई सातादेखि अवरुद्ध हुँदा करिब एक दर्जन गाउँको जनजीवन प्रभावित भएको छ। सडक सञ्चालन हुन नसक्दा सवारीसाधन ठप्प भएका छन् भने सदरमुकाम गमगढीसँगको आवागमन निकै कष्टकर बनेको छ।
सडक अवरुद्ध भएपछि स्थानीयहरू वैकल्पिक पैदल बाटो प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। वर्षायामका कारण पैदलमार्ग समेत हिलाम्मे र जोखिमपूर्ण बनेकाले दैनिक कामकाज, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको छ ।

सडक अवरुद्ध हुँदा पिना, मन्दु, कोटिल्ला, लिउडी, बालै, रञ्जनबालाई, माथिर, तलिघुईर, कोटोटिल्ला, खामगैटे, सिगाडी लगायतका करिब एक दर्जन गाउँका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। सदरमुकाम आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न तथा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत कठिनाइ भइरहेको छ।
छायाँनाथ रारा नगरपालिका–६, कोटिल्लाका स्थानीय हरिकृष्ण ऐडीका अनुसार सडक दुई सातादेखि बन्द हुँदा स्थानीयले निकै सास्ती खेपिरहेका छन्। “सवारीसाधन नचल्दा आउजाउका लागि करिब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। बिरामी, ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिलालाई सबैभन्दा बढी समस्या परेको छ। दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित भएको छ।”,उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्