क्षेत्रीय कारागार बाँकेमा कैदीबन्दीबीच झडप, ७ जना घाइते
बाँके । बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागारमा कैदीबन्दीबीच झडप हुँदा ७ जना घाइते भएका छन्। कारागारको बी–ब्लकमा भएको झडपपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि हाल सुरक्षा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार कारागारको आन्तरिक प्रशासन व्यवस्थापनका लागि नियुक्त गरिने नाइके र चौकीदार पदको विषयलाई लिएर कैदीबन्दीबीच विवाद चर्किँदै गएको छ। नाइके तथा चौकीदार चयनको समय नजिकिँदै जाँदा विभिन्न समूहबीच शक्ति सङ्घर्ष बढेको र त्यसकै परिणामस्वरूप झडप भएको बताइएको छ।
झडपमा वर्तमान नाइके धर्मराज बुढासहित ७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको भेरी अस्पतालमा तथा अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो। उपचारपछि सबै घाइते कारागारमै फर्किएको जनाइएको छ।
घटनापछि सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन कारागारबाट ४० जना कैदीबन्दीलाई अन्यत्र सारिएको छ। बाँके प्रहरीका प्रवक्ता डिएसपी प्रतितसिंह राठौरका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ भने कारागारभित्रको सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको छ।








प्रतिक्रिया राख्नुहोस्