विद्यालय–गाउँपालिका साझेदारी: उच्च शिक्षामा विद्यार्थीलाई राहत
स्नातक तह अध्ययनरत विद्यार्थीको शुल्क पालिकाले तिर्ने
ताप्लेजुङ । ताप्लेजुङको मिरिङ्देन गाउँपालिकाले शैक्षिकस्तर अभिवृद्धि गर्ने उद्देश्य सहित उच्च शिक्षा (स्नातक तह) अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएको छ ।

जिल्लामा रहेको पाथीभरा क्याम्पसमा अध्ययनरत पालिकाभित्रका एक सय बढी विद्यार्थीले क्याम्पसलाई बुझाउनु पर्ने शुल्क पालिकाले तिरिदिने भएको हो । पालिकाले शुल्क तिरिदिने भएसँगै पालिका भित्रका एक सय २८ विद्यार्थी लाभान्वित भएका छन् । मेरिङ्देन गाउँपालिका र पाथीभरा बहुमुखी क्याम्पस बिच भएको सम्झौतामा गाउँपालिकाका अध्ययनरत स्नातक तहका प्रथम,दोस्रो,तेस्रो र चौथो वर्ष सम्मका विद्यार्थीले क्याम्पसलाई तिनुपर्ने शुल्क पालिकाले तिरिदिने बुधबार सम्झौता भएको पालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा स्नातक तहको सबै सङ्काय र सबै वर्ष (सेमेस्टर) मा अध्ययन गर्ने विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने लगायत विविध ११ सर्तहरू उल्लेख गरिएको सम्झौता पत्रमा मेरिङ्देन गाउँपालिकाका तर्फबाट अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर) र निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले हस्ताक्षर गर्नुभएको छ भने क्याम्पसका तर्फबाट पाथीभरा बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिला इजम र क्याम्पस प्रमुख सजन पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
गाउँपालिकाले अध्ययनरत विद्यार्थीको एकमुष्ट रकम भुक्तानी दिने सम्झौता भएको पालिकाका अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर)ले जानकारी दिनुभयो । पालिकाले शुल्क तिरिदिने भयसँगै विद्यार्थीहरू हर्षित बनेका छन् ।







प्रतिक्रिया राख्नुहोस्